आफ्नै छात्रा संग विवाह गर्ने मौलाना पक्राउ

मस्जिदमा अध्यापन गराइरहेका मौलाना विरुद्ध बालविवाह र बहुविवाहमा कारवाही

बाँके खजुरा गाउँपालिका स्थित एउटा मस्जिदमा अध्यापन गराईरहेका एक मौलानाले आफ्नै नाबालक छात्रा संग बहुविवाह गरेको घटनामा प्रहरी कारवाही सुरु भएको छ ।

खजुरा गाउँपालिका वडा नं.८ चमकदारपुर स्थित रहेको बिलाली मस्जिदमा छात्र छात्रालाई उर्दु र अरबी अध्यापन गराउने मौलाना अतीक अहमद खाँ एक वर्ष अघि आफ्नै १४ वर्षिय छात्रालाई लिएर भारतमा लुकीछिपी बस्दै आएका थिए ।

मौलाना विरुद्ध उनकै श्रीमती मन्तसा खातूनले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय धनौलीले मौलानालाई पक्राउ गरेको हो । मौलानाको २ वटा बच्चा रहेको र हाल आफ्नै छात्राबाट समेत एउटा बच्चा जन्मिएको छ ।

हामीले एकवर्ष देखि खोजतलाश गरिरहेका थियौं, दैनिक नेपालगन्ज संग मौलानाकी श्रीमती खातूनले भनिन्, उनले विवाह गरेको छात्राको उमेर अहिले १६ वर्ष पनि पुगेको छैन । उसको एउटा बच्चा समेत जन्मिएको छ, उनले भनिन, अब हामीहरुलाई न्याय मिल्नु पर्छ ।

यसअघि मैले मौलानाको धेरै यातना सहें, निजको कूटपीटका कारण मेरो एउटा कानको जाली समेत फुटेको छ, खातूनले भनिन्, अब कडा कारवाही हुनुपर्छ ।

मौलाना विरुद्ध उनकै श्रीमतीले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा उजुरी दिएपछि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरि अनुसन्धान प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

Exit mobile version