अस्पतालमा नयाँ भवनसँगै सेवा विस्तारमा प्राथमिकता

वीरेन्द्र बहादुर शाह

अध्यक्ष

भेरी अस्पताल विकास समिति

पश्चिम क्षेत्रको ठुलो र जेठो अस्पतालको रुपमा रहेको भेरी अस्पताल अबका दिनमा नयाँ भवनसँगै थप सेवा र सुविधाका साथमा संचालनमा आइरहेको छ । अस्पतालमा नयाँ भवन उपलब्ध हुँदै गर्दा अन्य उपचार तथा सेवाको अवस्थाका बारेमा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहसँग हाम्रा सहकर्मीले गरेको कुराकानी संक्षेप ।

नयाँ भवन उद्घाटनसँगै पक्कै नयाँ योजना पनि होलान् । के छ नयाँ कुरा ?

अस्पतालले भर्खरै आफ्नो १३४औ वार्षिक उत्सव मनाएको छ । त्यससँगै अस्पतालले दिने सेवा सुविधाका बारेमा मेरो विशेष चासो छ । नयाँ भवनलाई अस्पतालको स्वमित्वमा लिंदै संचालन गर्न विधिपूर्वक नभैरहेको अवस्थामा आज हामीले त्यो प्रक्रिया पनि पुरा गर्दैछौं । यससँगै आगामी दिनमा विरामी उपचारलाई अझै प्रभावकारी बनाउँदै नयाँ भवनलाई प्रयोगमा ल्याउने छौं ।

भेरी अस्पताल पश्चिम क्षेत्रका विरामीहरुको केन्द्रीय अस्पताल हो । तर, यसलाई यही अनुरुप संचालन गर्न नसकेको जस्तो देखिन्छ नि के भन्नु हुन्छ ?

हो, यहाँले भनेको जस्तो ठ्याकै नभए पनि, भेरीमा देखिने केही घटनाले यस्तो देखाउँछ । तर, अस्पताल विकास समितिको नेतृत्वमा म आइसके पछिका दिनहरुमा अस्पतालले कोल्टे फेर्न प्रयासरत छ । यहाँ भएका हरेक समस्याहरुलाई नीतिगत एवं कानुनी ढंगले समाधान खोज्ने प्रयासमा हामी प्रयासरत छौं ।

भेरी अस्पताल पश्चिम क्षेत्रमा सामुदायिक स्वास्थ्यको केन्द्रीय अस्पताल भैरहेको अवस्थामा अन्य जिल्लाहरुले समेत भेरीका विषयमा चासो दिनु पर्छ । हामी कसैको एकल प्रयासबाट मात्रै धेरै राम्रो बनाउन सकिन्छ जस्तो लाग्दैन । सबैले हाम्रो अस्पतालका रुपमा स्वामित्व र अपनत्व लिनुपर्ने आवश्यकता अहिले छ ।

उसो भए यति भनिदिनुस्, भेरी अस्पतालका विकास समितिले के कस्ता प्रयास गरिरहेको छ ?

भेरी अस्पताल विकास समितिको अध्यक्षको रुपमा म यहाँ आएपछि धेरै राम्रा कामहरु भएको छन् । खासमा, समितिको अध्यक्षको नाताले भन्नु पर्दा कहाँ निर समस्या छ त्यसलाई समाधानको निम्ति हामी सधैव तयार अवस्था छौ ।

नेपालका प्रत्येक अस्पतालहरुमा आफ्ना आफ्ना समस्या छन् । अस्पताल विकास समितिले अस्पतालका लागि आवश्यक लय दिने हो । अस्पतालको विकासमा डाक्टर, कर्मचारी लगायत सबै विभागको उत्तिकै भूमिका रहन्छ । त्यसलाई नेतृत्व प्रदान गरिरहेको छ समितिले । विधान अनुसार, अस्पताल विकास समितिले काम गरिरहेको यहाँ मार्फत सम्पूर्णलाई जानकारी दिन चाहान्छु ।

तपाईले राम्रो गरिरहेका छौ भन्नु हुन्छ, सेवाग्राहीहरुले बेलैमा उपचार पाइएन भन्ने गुनासो पनि गर्नु हुन्छ, कुरा कहाँनिर बल्झिएको हो ?
मैले अघि पनि भने,समस्या हरेक ठाउँमा छ । समस्या छ भनेर चुप लागेर बस्नु भएन । मेरो लक्ष्य भनेको नै भेरीमा आउने विरामीहरुको छिटो छरिटो तथा सुलभ तरीकाले औषधी उपचार हुनु पर्छ भन्ने हो ।

डाक्टर कर्मचारी अथवा अन्य कोहीबाट पनि त्यस्तो लापरवाहीका कारणले ढिलो भएको होइन । त्यस्तो भएको गुनासो आएमा हामी प्रक्रियागत रुपले उपचार खोज्छौ नै, किन भने सरकारी अस्पतालमा आउने भनेका अधिकांश आर्थिक रुपले विपन्न तथा अति आवश्यक परेकाहरु नै हो । अस्पताल विकास समिति उपचार तथा सेवाको विषयमा गम्भीर छ । समस्या भनेको अस्पतालप्रतिको बढ्दो विश्वासलाई थेग्ने गरि सेवाको विस्तार र आवश्यक जनशक्ति व्यवस्थापननै हो । अतः हामी त्यसका लागि पनि प्रयासरत छौं । सरकारलाई घच्घच्याइरहेका छौं ।

अस्पताल हेर्दा जति नै सुन्दर देखिन्छ, त्यस्तै राम्रो व्यवस्थापन कसरी होला त ?

हामी नेपालीको बानी कस्तो छ भने कुनै पनि कुरा तुरुन्त चाहिने । अतः भर्खरै नयाँ भवन हस्तान्तरण हँुदैछ । पुरानो भवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी आफ्ना गतिविधि अगाडि बढाईनै रहेको छौ । सेवा विस्तार र व्यवस्थापनका लागि हामी छिट्टै नै केही उपाय निकाल्छांै नै । यसरी हेर्दा अहिले विभिन्न विभागहरु छन्, विभागका प्रमुखसँग दैनिक जसो भेटेर भनेकै छु । जहाँ सम्म छिट्टै नै अस्पताल तपाईले भनेजस्तै व्यवस्थित भएको देख्न पाइने छ । त्यसका लागि हामी सरकारसँग आवश्यक जनशक्ति, स्रोत र साधनबारे पनि लागि रहेका छौं ।

अबका दिन अस्पताल विकास समितिका प्राथमिकता के हुन् ?
अस्पतालमा रहेका रेडियोलोजी, प्याथोलोजी, ओटी विभाग, फार्मेसी, ल्याव लगायतका विभागबाट पूर्ण सेवा दिन नसकिरहेको अवस्था विद्यामान छ । जसलाई आगामी दिनमा व्यवस्थित गरेर लैजाने प्रतिबद्धता रहेको छ ।

प्राथमिकताका योजना बनाएर मात्रै हँुदैन । ठुला भवन भएर मात्रै हँुदैन । हामीले दिने सेवा सुविधा राम्रो हुनु पर्दछ । उपचारमा आएका विरामीहरुको रोग हामीले गर्ने व्यवहारले आधा निको पार्ने अवस्था हुन्छ । यसमा अस्पताल विकास समिति,डाक्टर ,कर्मचारी सबैको विरामीसँग भावनात्मक सम्बन्ध हुनु पर्दछ । त्यसका लागि पर्याप्त जनशक्तिको आवश्कता फुलफिल गरिनुनै प्राथमिकता हो ।
पछिल्लो समय भेरी अस्पतालको व्यवस्थापनको अवस्था सुधार हँुदै गएको छ । तर, एउटा भवन बन्दैमा भेरीले आफ्नो सेवाबृद्धि गर्न सक्छ भन्ने हुँदैन । त्यसका लागि खासगरी संघीय मन्त्रालय अन्तर्गत पर्ने भन्दै प्रदेश तथा स्थानीय सरकारले उपेक्षा गरेर हँुदैन । यस प्रदेश तथा सबै स्थानीय तह लगायतका सरकारले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नु पर्दछ । किनकी, भेरीले बाँके जिल्लाका विरामीलाई मात्रै उपचार गर्दैन । कोभिडको अवस्था भन्नुस् अथवा जाजरकोटको भुकम्प, हरेक अवस्थामा भेरी तैनाथ अवस्थामा रहनु पर्दछ यो बाध्यता पनि हो । अतः भेरी अस्पतालमा जनशक्ति देखि लिएर सबैको उपलब्धताका लागि सबैको सहयोग अनिवार्य हुनु पर्ने देखिन्छ, भेरी हामी सबैको हो ।

यहाँ नेपाली कांग्रेसको नेता । स्थानीय तहको प्रतिनिधित्व समेत गरी सक्नु भएको छ । भेरी अस्पतालमा राजनीतिक व्यक्तिको नेतृत्व कति उचित हो ? यहाँको अनुभवबाट भेरीले के पाउन सक्छ ?
हेर्नुस्, राजनीति र स्वास्थ्य सेवाको क्षेत्र विलकुल फरक पाटो हो । तर, दुबै सेवा क्षेत्र हुन् । म त भन्छु राजनीति समेत स्वास्थ्य हुनु पर्दछ । तर, स्वास्थ्य सेवामा हामी कसैले पनि राजनीति गर्ने होइन । राजनीति गर्नका लागि विभिन्न प्लेटफर्महरु छन् अस्पतालमा आएर राजनीतिक गर्नपर्छ ? जसलाई हामीले राजनीति गर्नका लागि प्रयोग गर्न सक्छौं, त्यही गर्ने हो ,अस्पताल भनेको विशुद्ध सेवा हो । त्यसमा पनि बाँच्न चाहनेहरुको पवित्र थलो हो अस्पताल । अतः यहाँ राजनीति हुन्न ।

मेरो एउटा मात्रै नीति छ अस्पताल राम्रो बन्नु पर्दछ । विरामीका उपचारका विषयमा कसैसँग सम्झौता गर्ने पक्षमा म कहिल्यै हँुदैन । अर्को कुरा, कसैलाई त्यस्तो गर्नु छ,आफु मोटाउनु छ भने अस्पताललाई प्रयोग नगर्दा हुन्छ अन्य बाटो अपनाए हुन्छ, पैसा कमाउने अन्य माध्यमहरु समेत रहेको छन् । त्यसैले सोंच महत्वपूर्ण कुरा हो ।

अन्तमा के भन्न हुन्छ ?
यहाँलाई लगायत दैनिक नेपालगन्जमा टिम प्रति हार्दिक आभार व्यक्त गर्दछु । यस पत्रिकाले जहिल्यै भेरी अस्पताललाई प्राथमिकतामा राखेर समाचार सम्पेषण गरिरहेको हुन्छ ।

संघीय अन्तरगत राखिएको भएता पनि भेरी अस्पतालले दिने सुविधा पश्चिम क्षेत्रका समग्र विरामीहरुलाई हो भन्ने कुरा सबैमा पुग्न आवश्यक छ । भेरी अस्पताल लुम्बिनीमा रहेको हँुदा लुम्बिनी प्रदेशले समेत भेरीको विकास लागि केही अलिकबढी गर्नु पर्दछ भन्ने छ । त्यसको लागि म लागि रहेको छु । अर्को कुरा, भेरी अस्पताल तपाई हामी सबैको हो, यसले सेवा दिने भनेको तपाई हामीहरुलाई नै हो । अतः भेरीको विकास, प्रगति, यस दिने सेवाहरुलाई अझै सर्वसुलभ तथा चुस्तदुरुस्त बनाउन लागांै । हामी सबैको दायित्व र कर्तव्य पनि हो यो ।

Exit mobile version