शम्भु थारु
बर्दियाको बढैयाताल गाउँपालिका ७ फुलपुर गाउँमा हरेरी पुजा सम्पन्न भएको छ । गाउँका ठुलो गुरुवा ठग्गा राम थारु, केसौका सितारा थारु र दिपक थारुले हरेरी पुजा गरेको गाउँका बरघर राम शरण थारुले बताए । धानबालीमा रोग किरा नलागोस् बाली हराभरा रहोस् भन्ने मान्याताका साथ फुलपुर गाउँका स्थानीयहरू हरेरी पुजा गरेका छन् ।
हरेरी पुजा बाँसगढी ६ मोतिपुर गाउँमा पनि सम्पन्न भएको छ । ४ सय घरधुरी रहेको मोतिपुर गाउँमा बरघर दशैया थारुको अगुवाईमा गाउँका बर्का गुरुवा दशरथा थारु, केसौका रोगाही थारुले हरेरी पुजा गरेको गाउँका सहायक बरघर राम किसुन थारुले बताए ।
अहिले बर्दियाका थारु गाउँमा धमाधम हरेरी पुजा भैरहेको छ । करिब २ सय थारु गाउँ भएको जिल्लामा अधिकांस थारु गाउँमा हरेरी पुजा भैसकेको छ, भने नभएका गाउँमा धमाधम पुजा भैरहेको बढैयाताल बरघर संञ्जालका पुर्वा अध्यक्ष प्रशुराम थारुले बताए ।
थारु बाहुल्य पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत्का जिल्लाका थारु बाहुल्य गाउँमा प्रत्येक बर्ष धान रोपिसकेपछि हरेरी पुजा गर्ने चलन छ । हरेरी पुजा बरघरको अगुवाईमा गाउँभरीका सबै घरमुली जुटेर गाउँका साझा गुरुवालाई बोलाई ठन्वामा पुजा गर्ने चलन रहेको बरघर राम शरण थारु बताउँछन् ।
दुई दिनसम्म हुने हरेरी पुजामा पहिलो दिन भुईह्यार ठन्वामा पुजा गर्ने गरिन्छ भने दोस्रोदिन बर्का गुरुवाले दुध, कुस र आक्षतले सजाएर गाउँको शिर कुलामा खिरभन हालेर पुजा सम्पन्न गर्ने गरेको फुलपुरका गुरुवा ठग्गा थारुले बताए ।
हरेरी पुजा गरेको दिन देखि नै थारु गाउँमा मादल खुल्छ । सोही दिनदेखि नै थारु गाउँमा नाचगान शुरु हुन्छ । त्यसकारण नाचगानको शुरुवात्को रूपमा पनि, यो हरेरी पुजालाई लिने गरेको मोतिपुरका सहायक बरघर राम किसुन थारुको भनाई छ ।
हरेरी पुजामा खास गरेर महादेव र पर्वतीको पुजा गर्ने गरिन्छ । पर्वती बिभिन्न देवीको रूपबाट आउने भएकाले देवी र किराका रक्षक दानवलाई खुसि पार्नका लागि पुजा गर्ने गरेको जानकारहरू बताउँछन् ।