तराईका जिल्ला बाँके, बर्दियामा अहिले धानबालीमा झारनासक बिषादीको अत्याधिक प्रयोग भैरहेको छ । बिगत केही बर्षयता किसानहरू धानबालीको झार मार्न झारनासक बिषादीको प्रयोग गरिरहेका छन् । बिगतमा किसानहरू धानको झार गोडमेल गरेर नै फाल्ने गरेका थिए तर झारनाशक बिषादी आएपछि किसानहरू धान गोडमेल गर्न करिब छाडिसकेकाछन् ।
बर्दिया बढैयाताल ५ का ५० बार्षिय रामधान थारु बिगातमा घरपारिवार सबै मिलेर हातखुट्टा सडाएर डेढ महिनासम्म धान गोडमेल गरेको सम्झिन्छन् । तर, अहिले झारनासक बिषादी आएपछि धान गोडमेल गर्न छाडेर बिषादी नै प्रयोग गर्ने गरेको उनी बताउँछन् ।
बढैयाताल ५ कै नेत्र ढुङ्गना पनि बिगत ४÷५ बर्षदेखि धान गोडमेल गर्न छडिसकेका छन् । उनले झारनाशक बिषादी प्रयोग गरेर नै झार मार्ने गरेका छन् । तर बिषादीको प्रयोगले धानलाई असर गर्ने भएपछि गोडमेल गरेको जस्तो उत्पादन नहुने गरेको उनी स्ुनाउँछन् ।
अहिले बाँके, बर्दियामा बिरलै मात्रमा किसानहरू धान गोडमेल गरेको देखिन्छन् । अधिकांस किसानहरू बिषादी प्रयोग गरेपछि एग्रोभेटमा बिषादीको व्यपार समेत बढेको छ ।
‘बिगतको तुलनामा अकासे पानी कम पर्नाले खेतमा बढी झार उम्रिने गरेको छ भने बैदेशिक रोजगारी लगायत्का कारण खेतमा काम गर्ने जनशक्तिको कमी, बिषादीको तुलनामा खेतला लगाउदाँ बढी लागत र किसानहरूले कम मेहनत गर्न थालेपछि, अहिले बिषादीको प्रयोग बढेको छ’, बर्दिया बढैयातालका अर्को एग्रोभेट व्यवसायी प्रवेश थारु भन्छन् ।
तर, झारनासक बिषादीको सही मात्रमा प्रयोग नगर्दा धान पहेलो हुने र त्यहाँ भएको जिवजन्तु समेतलाई असर पार्ने र उत्पादनमा समेत कमी ल्याउने भएकाले आवश्यक मात्रभन्दा बढी प्रयोग नगर्दा सुझाव दिनुहुन्छ, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा बिषादी बिज्ञ शकिल अहमद बताउँछन् ।
झारनाशक बिषादी एउटा बिष नै हो । खेतमा प्रयोग गर्दा सावधानीका साथ प्रयोग गर्नु पर्छ । आवश्यकता भन्दा बढी प्रयोग गर्दा मनिस लगायत जिवजन्तु, र धानबालीलाई समेत असर पार्ने र उत्पादनमा समेत कमी ल्याउने भएकाले साबधानीपूर्वक बिषादी प्रयोग गर्न कृषि प्रबिधिकहरूको सुझाव छ ।