“सबै अँ हो हो, भयो, सब ठिक छ, सबै सज्जन छन्, सबैकुरा मिलेको छ, तिमी गतिला छौ, तिमीभन्दा राम्रो कोहि छैन, तिमिले गरेको सबै ठिक छ, यो पनि ठिक छ, त्यो पनि ठिक छ ।” भनेकै भरमा संसार न हिजो चल्यो न आज चलेको छ न भोली चल्नेछ । तर पनि आज सबैलाई सकारात्मक सोचाइ र भनाइको नाउँमा यस्तै चाहिएको छ । सबैलाई कुनैपनि शब्दमा ‘न’ अक्षर चाहिएको छैन । हुन्न र भएन चाहिएको छैन । यसैले त ‘न’ भन्ने अक्षर लागाउँदैमा सबै नकारात्मक नै हुन्छ भन्ने भाष्य बनाइएको छ । यस्तो भाष्य जसरी अहिले हाम्रो समाजमा बनाइँदै छ त्यसले समाजको मार्ग नै वास्तविक रुपमा गलत दिशातिर गैरहेको छ । यो समाजलाई होस् या आफ्नो सन्ततिलाई या संस्था र देशको प्रगति र उन्नतिको लागि या फेरि भाषाको पूर्णताको लागि ‘न’ अक्षरको महत्व रहेको कुरा बुझ्न यसको गहिरो अध्ययन र विश्लेषण गर्नुपर्छ । समाजमा भएन, यसो होइन, भन्न नचाहनेहरुलाई यसो भैदिए हुन्थ्यो, उसो भैदिए हुन्थ्यो जस्तो कुरा गर्दैमा सुधार हुने र सकारात्मक भैहालिन्छ भन्ने हो कि गलतलाई वेवास्ताको पारामा लिएर पानी माथिको ओभानो हुने प्रचलनले नेपाली समाज नैतिकहीन र गैर जिम्मेवार हुँदै गएको छ ।
भएन भन्दैमा सबैकुरा नकारात्मक नै हुन्छ भन्ने होइन । यो समाजमा सुधार हुन होस या नैतिकताभित्र बस्न भएन र हुन्न त भन्नैपर्छ । आज भएन नभन्नेहरुले देश र समाजलाई दीर्घकालिन रुपमा नकारात्मक असर गरिरहेका छन् भन्ने बुझेर नै त्यो कुरालाई गहिरिएर अध्ययन गर्न जरुरी छ ।
नेपालमा दलीय राजनीतिको विकास नै ‘न’ बाट शुरु भएको हो भन्दापनि हुन्छ । तत्कालीन शासनको काममा खोट देखाएर, गरिखाने र पौरखीहरुलाई गलत देखेर, समाजको जराजरामा अराजकताको बीऊ रोपेर, मान्छे मान्छे बीच द्धन्दको खेती गरेर, असल अभ्यासहरुमा पनि नकारात्मक दृष्टिकोण राखेर फलाएको नेपाली राजनीतिको अभ्यासमा आज ‘भएन’ भन्ने शब्द र ‘न’ अक्षर देखि नै दुराग्रह राख्ने चरित्रको विकास भएको छ । यस्तो हुनु सम्यकता त होइन ।
संसारमा भएन भन्दैमा सबै समानता भैहाल्ने । सुशासन भैहाल्ने । सकारात्मकै सकारात्मक भैहाल्छ भन्ने हुँदै हुँदैन । हुन्छ भन्नेहरु कसैले त्यसो हुन्छ भन्ने प्रमाणित गराएर देखाइ देओस् ।
दुःख भन्ने कुरा मूर्त हुँदैन । तर यसलाई जीवनचर्यामा महसुस गरिने हो । आवश्यकताले अभाव जन्माउँछ र अभावले आविष्कार खोज अुनसन्धान जन्माउँछ । समाजमा कुनैपनि काम समाजको प्राकृतिक, परम्परागत र नैतिकवान तौर तरिका भन्दा फरक चल्न थाल्यो भने त्यसले बिकृति जन्माउँछ । बिकृत समाजले जन्माउने हुर्काउने राजनीति र त्यसको शासन प्रशासन थितिको हुनै सक्दैन । त्यहाँ यसलाई बेलैमा थितिमा ल्याउन सावधान गर्न गराउन जरुरी हुन्छ । यसका लागि भएन, हुन्न, भन्नै पर्ने हुन्छ । गलतलाई सकारात्मकताको नाटक गरेर यसो भए हुन्थ्यो, उसो भए हुन्थ्यो भन्ने कुरा भए हुन्थ्यो नि भएन ल ठिकै छ भन्ने अर्थमा लिइन्छ भने समाजमा अराजकता बढ्दै जान्छ । नेपाली राजनीतिमा मात्रै होइन यो समाजलाई मार्गदर्शक गर्नेहरु समेत अहिले यहि लाइनमा रहेर पानीमाथिको ओभान बन्न खोजेको देखिन्छ । ‘भए हुन्छ नत्र मेरो के जान्छ र ?’ भन्नेहरु नै यो समाजका बेथितिका मुख्य कारकहरु हुन । नेपाली समाजमा मौलाउँदै गएको अराजकता र बेथितिको कारण यस्तै भएर नै हो । भएन र हुँदैन भन्नेलाई नकारात्मक देख्नेहरुका कारण हो किन भन्न नसक्ने ?
नकारात्मकताको जगमा हुर्केको नेपाली राजनीतिले अर्कोलाई सकारात्मक देख्नै सकेको छैन । जिन्दगी भरि एउटा कार्यालयमा पियनको जागीर खाँदा उसले आफुमाथि हाकिमले अह््राएको, काम गराएको कुरालाई सधैं हेपेको र पेलेको देख्छ । आफ्नो छोरालाई हाकिम बनाएर अरुलाई पनि हेप्ने सपना पनि बुन्छ । यसको अर्थ उसले आफ्नो छोरा हाकिम बनाउनै हुन्न भन्ने होइन तर अरुलाई हेप्नैका लागि उद्देश्य राखेर बनाउने हाकिम जस्तै नेपाली राजनीतिको चरित्र बनेको छ । यसैले आज उसको काममा भएन हुन्न भन्नेहरु सबै नकारात्मक भएका छन् ।
समाजमा राजनीति चेतनाको नाउँमा होस् या नेतृत्व विकासको नाउँमा या फेरि अधिकारको नाउँमा हरेकलाई आफ्नो सीमा बाहिर जान सिकाइँदै छ । राजनीतिक पार्टी र यसका नेताहरुको मसिहाकरण गरिएको छ । आफ्नो दायित्व निर्वहन गर्नुलाई अधिकारको हनन् र दासता सम्झिने चरित्रको विकास गरेर यस्तो सहन नहुने सिकाएको राजनीतिले दायित्व निर्वहन भएन, गलत भयो भनेको सुन्नै सक्दैन । अहिले त गर्दा गर्दा नेपालको शिक्षामा नै विद्यार्थीलाई उसले गरेको काम गलत भयो भने पनि भएन नभन्ने रे ! अलि यसो गरेको भए ठिक हुन्थ्यो भन्ने रे ! आफ्ना बालबच्चालाई पनि तिमीले यसो नगर नभन्ने रे ! यसो नगरेको भए राम्रो हुन्थ्यो, भन्ने रे ! नेतालाई, कर्मचारीलाई, शासकलाई यो काम ठिक भएन नभन्ने रे ! नएकोलाई पनि भएन नभनेर यसो हुनुपर्छ भन्ने रे ! यसैले नेपालका नेताहरु देखि संघसंस्थाका नेतृत्वमा रहेका व्यक्तिहरुको भाषा केलाउँदा उनका हरेक भाषण र भनाइका शब्द शब्दमा ‘यसो हुनुपर्दछ, उसो हुनुपर्दछ,’ बाहेक केहि हुँदैन । आफै निर्णय केन्द्रमा रहने, आफै कार्यान्वयनको तहमा रहने अनि भन्ने ‘यसो हुनुपर्दछ र उसो हुनुपर्दछ ।’ लाजसरमको कुनै चीजै छैन । सकारात्मक भएको भन्दै हुनुपर्दछ भनेर पानी माथिको ओभानो हुने ? यो भएन, यसकारण भएन म यो गर्छु भन्ने शब्द नेपाली राजनीतिमा लगभग प्रतिबन्धित जस्तै भएको छ ।
नभएको कुरालाई, गर्न नसकेको कुरालाई, गलत कुरालाई सोझै गलत नभनेर भैदिए हुन्थ्यो भनिँदैमा सकारात्मक हुने होइन । यसले तत्काल सुन्दा कसैलाई नपिराएको सुनिएला तर यसले समाजलाई विस्तारै छाडातन्त्रतिर नै लैजान्छ । कतै न कतै नेपाली समाजमा यस्तै लक्ष्यणहरु देखिएका छन् ।
छिमेकमा चरित्रहीन व्यक्ति छ तर उसको चरित्रलाई गलत भन्न हुँदैन । छिमेकमा अरुको लूटेर ठगेर छिनेर खाने व्यक्ति छ उसलाई यस्तो छ भन्न हुँदैन । छिमेकमा परस्त्रीगमन गर्ने परपुरुषसँग हिमचिम राख्ने व्यक्तिहरु छन् तर तीनलाई त्यहाँको समाजले गलत भयो भन्न हुँदैन । आफ्नै घर परिवारभित्रै अभिभावकलाई नटेर्ने सन्तान छ, कसैलाई अभिभावकत्व नमान्ने सदस्य छ, आफुले मान्यहरुको सामु न्यूनतम लाजसरम सम्म पनि नराख्ने सदस्य छ तर उसलाई यस्तो भएन भन्न नहुने । संस्था बेथितिको चरममा गएको छ, जनताको लगानी डुब्दै छ तर यस्तो भएन नि भन्न नहुने । विद्यार्थी अटेरी भएको छ, पढाइ कम जिस्किने ङिच्किने बढ्दै छ यस्तो भएन भन्न नहुने । गृहकार्य नगरेकोलाई गरेन भन्न नहुने । समयमा विद्यालय नपुगेकोलाई नपुगे भन्न नहुने । बजारभरि पत्रुखानाको ब्यापारमा छूट दिने अनि यस्तो नखाए हुन्थ्यो भन्ने । सूर्ती चुरोट बनाउने, रक्सी बनाउने तर नखाए हुन्थ्यो भन्ने । अनि यसो गर्दिए हुन्थ्यो उसो गर्दिए हुन्थ्यो भन्दैमा सबै सकारात्मकै सकारात्मक भैहाल्छ ? त्यसो भए त कानून बनाएर सबैले मान्न पर्ने भन्ने किन ? डण्डा लगाउने किन ? जेल बनाएको किन ? त्यै हुनुपर्दछ, र गर्नुपर्दछ भने भै गो नि ! हामीले कस्तो समाजको निर्माण गरिरहेका छौं ? के समाजमा नभएको कुरालाई, या गर्न नहुने कुरालाई भो भन्नै नहुने हो ? समाजशास्त्रीहरुले नै व्याख्या गरुन् ।