चार सय ग्राम सुन सहित चार पक्राउ

नेपालगन्जमा अवैध रुपमा सुन चाँदीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, नेपालगन्ज ११ विपी चोक आसपासमा अवैध रुपमा सुनचाँदीको कारोबार भैरहेको सूचनाका आधारमा चेकजाँच गर्दा अवैध सुनको कोरोबार गर्नेहरु पक्राउ परेका हुन् ।

प्रहरीले चेकजाँचका क्रममा बर्दिया राजापुर वडा नं. ८ का नेपाली थारु, उनले चलाएको प्रदेश ०३०१– ०२४ च ६७६३ नं. को कार, राजापुर वडा नं. ४ का निम प्रकाश सुनारलाई ६७ ग्राम सुन सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुनबारे अनुसन्धान अगाडि बढाउँदा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ बस्ने राहुल सोनारको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल रहेको पायलहरु तथा तार समेत बरामद गरेको थियो ।

प्रहरीले नेपालगन्ज–२ स्थित पसलबाट अवैध रुपमा सुनको कारोबार भएको अनुसन्धानबाट खुलेपछि महेश मुराउले संचालन गरेको पशुपती सुन चाँदी रिफाईन कारखानामा तलासी गरेको थियो । त्यस क्रममा थप ३ सय ४० ग्राम सुन र १० के.जी. ४४१ ग्राम चाँदी बरामद गर्यो । प्रहरीले सुनचाँदी सहित कारखानामा रहेका राप्तीसोनारी गा.पा. ४ बस्ने ओम जङ्ग चौधरीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरीले दुबै स्थानबाट बरामद भएका सुन चाँदी, सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको जानकारी दिएको छ ।

प्रहरीले कुल ४ सय ७ ग्राम सुन, १० केजी ६ सय १३ ग्राम चाँदी र सवारी साधन राजश्व कार्यालयमा बुझाएको हो ।

सुनचाँदी र सवारी साधन सहितको मूल्य १ करोड ५ लाख ३३ हजार ४ सय ४७ रुपैयाँ अनुमान गरिएको छ ।

Exit mobile version