नेपालगन्जमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजित तीन दिने श्रीकृष्ण जन्मोत्सव आज सकिंदैछ ।
महोत्सवको अन्तिम दिन आज भारतका प्रसिद्ध जबाबी कीर्तनका लागि कलाकार सचदेवा सरारती कानपुर तथा रोशनी अञ्जना लखनउको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् ।
कसौधन शिरोमणि स्व.मोहनलाल वैश्यको स्मृतिमा श्रीकृष्ण जन्माष्टमी समितिको आयोजनामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल , क्षेत्रीय कार्यालय, नेपालगन्जको सहकार्यमा धार्मिक कार्यक्रम आयोजना गरिएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी नन्दलाल वैश्यको अध्यक्षतामा सोमबार कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मीना श्रेष्ठले शुभकामना सहित संस्थाले गरेको विशेष कार्यको सराहना गरिन् ।
उद्घाटनमा नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपाल प्रजातन्त्र पार्टीको सह मन्त्री ऋषि देवकोटा, संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदी, समाजसेवी पशुपति दयाल मिश्रा, नेपाली काँग्रेसका पुर्व जिल्ला अध्यक्ष किरण कोईराला, पत्रकार जे.पाण्डे, पुर्व नगर प्रमुख विजय गुप्ता तथा अन्य प्रतिष्ठित व्यापारी, राजनैतिक, धार्मिक व्यक्तित्वहरु, समाजसेवी र सयौं श्रद्धालुहरुको उपस्थिति रहेको थियोे ।
उद्घान कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनीनी ब्रह्माकुमारी दुर्गा दिदीले जन्माष्टमीको गहनतम रहस्य बारे प्रकाश पार्दै अनेकौं कंस, जरासन्ध जस्ता प्रवृत्तिको नास भएर अब छिट्टै नै श्रीकृष्णको आगमन हुँदैछ, अब हामी सबै सुध्रिनु पर्छ, परिवर्तन हुनुपर्छ, वहाँको राजधानीमा जानको लागि, साच्चै श्रीकृष्णलाई प्रेम गर्छौं भने आध्यात्मिक मार्गतिर अग्रसर हुनुको विकल्प नभएको कुरा बताएकी थिइन् ।
जन्मोत्सव कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय वि.वि.मा आवद्ध बाँके , बर्दियाका बाल कलाकारहरुले विभिन्न नृत्य, नृत्यनाटकहरु तुलादान तथा अन्य लघु नाटक श्रीकृष्ण सुदामा मिलन, श्रीकृष्ण अर्जुन सम्वाद, गीत, भजन सहित चैतन्य झाँकी आदिको झण्डै २० वटा सुन्दर प्रस्तुतिले सबै भक्तजनलाई आकर्षित गरिरहेको छ ।
रात्रिको श्रीकृष्ण जन्मोत्सव निकै उल्लासपूर्ण मनमोहक रहेको छ । सहस्त्र राधाकृष्ण दर्शन विशेष आकर्षण बनेको थियोे । उक्त साँस्कृतिक कार्यक्रमको निर्देशन ब्रह्माकुमारी बबीता गुप्ता बहिनीले गर्नुभएकोमा सम्मान गरिएको थियो । कोहलपुरबाट आएको लघुनाटक तथा नृत्यहरुको निर्देशन डान्स प्रशिक्षक गणेश विष्टले गरेका थिए भने कार्यक्रमको सफल संचालन अभिप्रेरक वक्ता संस्था नेपालगन्जका उप प्रमुख ब्रह्माकुमारी मुनाले गरेकी थिइन् ।
यसै अवसर पारेर ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल , क्षेत्रीय कार्यालय, नेपालगन्ज, शाखा कार्यालय, कोहलपुर, शाखा कार्यालय गुलरिया, बाँसगढी, मधुवन, राजापुर, बर्दिया, सुर्खेत, कालीकोट, जुम्ला लगायत नेपालका अन्य सेवाकेन्द्रहरुमा विभिन्न साँस्कृतिक कार्यक्रम गरी भव्यताका साथ मनाएको जानकारी संस्थाका क्षेत्रीय सचिव ब्र.कु.कृष्णबहादुर रानाभाटले दिएका थिए ।