देशमा आजः ८ बजे ८ खबर

  1. सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । योसँगै ३ प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु भएको छ । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो ।
  2. अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले २० र २१ भदौमा टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो ।
  3. दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठले संविधानमा आफ्नो नियुक्ति रोक्ने प्रावधान देखाउन संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूलाई चुनौती दिएका छन् । आफूलाई राजदूत बन्नबाट रोक्ने प्रावधान भए सिफारिसकर्तालाई ठिक नगरेको भनेर भन्ने पनि उनले बताए ।
  4. दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारका लागि कोटा बढाउन पहल लिने बताएकी छन् । राजदूत नियुक्त भएपछि आफूले नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षताको प्रचार गर्दै दक्षिण कोरियामा नेपाली श्रमिकका लागि कोटा बढाउन भूमिका खेल्ने बताएकी हुन् ।
  5. संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।
  6. मुगुको सोरु गाउँपालिका-६ को बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सोरु-३ भिईगाउँका नरबहादुर बुमीको मृत्यु भएको छ ।
  7. बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् ।
  8. सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई आदेश दिएको छ ।
    मंगलबार न्यायाधीशहरु हरि फुयाल र विनोद शर्माको इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्न आदेश दिएको हो ।
Exit mobile version