तिज पर्व नजिकिंदै गर्दा नेपालगन्जमा तिज विशेष कार्यक्रमहरू दैनिक जसो भैरहेका छन् । विभिन्न संघ, संस्थाहरूले तिजका अवसरमा सचेतनामूलक, मनोरञ्जनात्मक तथा प्रतिस्पर्धामूलक कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।
त्यसक्रममा प्रेस चौतारी बाँकेले बुधबार डुडुवा गाउँपालिकामा पत्रकारहरू बीच तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा पत्रकार महिलाहरूका सवालमा छलफल गर्दै तिज गीतमा उनीहरू रमाएका थिए ।
त्यस्तै, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा तिज विशेष भेटघाट कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बाँकेका महिला पत्रकारहरूले चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्रसम्बन्धी समाचार र लेखनप्रति महिला पत्रकारहरूको आकर्षण बढाउन प्राथमिकता दिनु पर्ने बताएका थिए ।
कार्यक्रमको खुल्ला अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ महिला पत्रकार अक्षरी पोखरेलले चलचित्र पत्रकार संघले चलचित्रसम्बन्धी लेखन गराउने र उत्कृष्ट लेखन गर्ने महिला पत्रकारलाई पुरस्कारको व्यवस्था गर्ने जस्ता कार्यक्रमको अयोजना गर्नु पर्ने बताइन् । उनले अन्य पत्रकार संघठनभन्दा चलचित्र पत्रकार संघले फरक ढंगले कार्यक्रम अयोजना गर्दै आएको बताउँदै प्रदर्शनमा आएका नयाँ नेपाली चलचित्रका बारेमा लेख्न महिला पत्रकारहरूलाई प्रेरित गर्नु पर्ने बताइन् ।
पत्रकार विमला चौधरीले चलचित्र पत्रकारले तीज कार्यक्रम आयोजना नगरेसम्म तीज आएको अनुभुती नहुने गरेको बताउँदै चलचित्र पत्रकारले बेला बेलामा नेपाली चलचित्र निःशुल्क पत्रकारहरूलाई हेर्ने व्यवस्था मिलाए पनि कसैले उक्त चलचित्रका विषयमा लेख्ने नगरेको बताइन् । उनले वर्षभरी आएका चलचित्र, तिनीहरूको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा महिला पत्रकारहरूलाई लेख लेख्न प्रेरित गर्नु पर्ने बताइन् ।
कार्यक्रममा पत्रकार रूपा गहतराजले नेपालगन्जबाट पनि चलचित्र पत्रकार संघले कलालाई समेटेर कम्तीमा वार्षिक बुलेटिन प्रकाशन गर्नु पर्ने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाहले चलचित्र पत्रकार संघ बाँके शाखाले हरेक कार्यक्रम संचालन गर्दा केही नयाँ सन्देश दिनेगरी आयोजना गर्ने गरेको बताइन् । उनले बाँके शाखामा पुरुष अध्यक्ष भएता पनि महिला विशेष कार्यक्रममा कार्यसमितिमा रहेका फरक फरक महिलाहरूलाई कार्यक्रममा अध्यक्षता गराउन, कार्यक्रम संचालन गर्न पठाउने जस्ता नयाँ कामहरूको सुरुवात गरेको बताइन् । चलचित्र पत्रकार संघले जसरी कार्यक्रमहरूमा महिला पत्रकारहरूलाई प्राथमिकता दिएको हुन्छ त्यसरी नै अन्य पत्रकार संघहरूले पनि कार्यक्रमहरूमा महिला पत्रकारहरूलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमको अध्यक्षता गरेकी चलचित्र पत्रकार संघ बाँके शाखाकी सह–सचिव लक्ष्मी तिमिल्सेनाले अन्तरक्रियामा उठेका कुराहरूलाई बाँके शाखाले कार्यान्वयनमा ल्याउन योजना बनाएर अघि बढ्ने बताइन् ।
त्यस्तै, हरितालिका तिजको अवसरमा बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुलमा बुधवार तिज मिलन तथा शुभकामना आदान प्रदान गरिएको छ । कोहलपुर नगरपालिकाका उप–प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा भएको तिज मिलनमा विद्यालयका समादेशक, सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले जिवनोपयोगी व्यवहारिक तथा संस्कार सहितको शिक्षा दिने प्रतिवद्धता जनाए ।
आफ्नो कला र सस्कृतिको जगेर्ना गर्दै सिकाई साथसाथै व्यवहारीक शिक्षा प्रदान गरी अव्वल नागरिक निर्माण गर्ने विद्यालयको प्रतिबद्धता रहेको समादेशक तिमिल्सेनाको भनाइ थियो ।
कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो गित सहित नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक हरी देवकोटाले दिएको जानकारी अनुसार, विद्यालयले बिएलईको पछिल्लो नतिजामा सर्वोत्कृष्ट स्थान हासिल गरेको छ ।