पूर्व प्रधानमन्त्री चन्दलाई ‘डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार’

यस वर्षको ‘डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार’ प्रसिद्ध साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिने भएको छ । 25 हजार पुरस्कार राशीको यो पुरस्कार नेपालगन्ज घरवारीटोल निवासी वरदानजङ्ग राणाको परिवारले स्थापना गरेको हो ।

सर्वदा साहित्य सङ्गम, नेपालगन्जले प्रदान गर्ने उक्त पुरस्कार पूर्व प्रधानमन्त्रीसमेत रहेका ८५ वर्षीय साहित्यकार चन्दलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष खगेन्द्र गिरि कोपिलाले जानकारी दिए । साहित्यकार चन्दका हालसम्म १३ वटा साहित्यिक कृति प्रकाशित भैसकेका छन् ।

साहित्यिक परिवृत्तमा श्रीलोचनको उपनामले परिचित चन्दले प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरिसकेका छन् । उनका विसर्जन, हिउँको तन्ना, सन्ध्यावली, नेताको साथी, कुर्सी र अपराजिता निकै चर्चित साहित्यिक कृति हुन् ।

सुदुर पश्चिम नेपालको बैतडी जिल्लाको कुरकुटिया नामक गाउँमा विक्रम संवत् १९९६ साल फाल्गुण ३ गते जन्मिएका चन्दले साहित्यका सबैजसो विधामा कलम चलाएका छन् । चन्द २०४०–२०६० को कालखण्डमा मुलुकको चार पटक प्रधानमन्त्री भइसकेका छन् ।

नेपालगन्ज घरबारीटोल घर भै हाल ललितपुर श्वेतशिखरमा वसोवास गर्ने प्रसिद्ध साहित्यकार तथा अवकाश प्राप्त चिकित्सक डा. कृष्ण जङ्ग राणाले रु. २५ हजारको डा.कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना गरेका हुन् । यसको निम्ति उनले कृषि विकास बैक त्रिभुवनचोक शाखामा रु. ५ लाखको अक्षयकोष स्थापना गरि सो पुरस्कार सञ्चालनको दायित्व सर्वदा साहित्य सङ्गम, नेपालगन्जलाई सुम्पिएका थिए ।

डा.राणाले केही समय अघि बाँके जिल्लाका नवप्रतिभाहरूलाई प्रदान गर्ने गरि आफ्नी धर्मपत्नी शान्ता राणाको नाममा प्रतिभा पुरस्कार स्थापना गरेर महेन्द्र पुस्तकालय नेपालगन्ज बाँकेमा रु. ४ लाखको अक्षयकोष स्थापना गरिदिएका छन् ।

Exit mobile version