अदालत भित्र बहस, बाहिर धर्ना

गत भदौ १ गते राप्तीसोनारी गाउँपालिकामा दुई युवा माथि धारिलो हतियार प्रहार घटनामा दोषीलाई कारवाही माग्दै र निर्दोष फँसाउन खोजिएको भन्दै निरन्तर प्रदर्शन भैरहेको छ ।

धारिलो हतियार प्रहार घटनामा जिल्ला अदालत बाँकेमा प्रारम्भिक बहस सुरु भएको छ ।

अदालत भित्र बहस चलिरहँदा निर्दोषको रिहाइका लागि भन्दै एउटा पक्ष र दोषीलाई उन्मुक्ति दिन नहुने कारवाही गर्नुपर्ने माग गर्दै जिल्ला अदालत बाँके बाहिर धर्ना दिइरहेका छन् ।

दुवै पक्षको एकै ठाउँमा धर्ना, प्रदर्शन भैरहँदा बाँके प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा गत भदौं १ गते दुई जना युवामाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा गम्भीर घाइते उनीहरूको अहिले पनि भारतको लखनउमा उपचार भैरहेको सम्बद्ध परिवारले बताएका छन् ।

धारिलो हतियार प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल गम्भीर घाइते भएका थिए ।

प्रहरीले धारिलो हतियार प्रहार घटनामा तत्कालै एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहितका व्यक्ति नियन्त्रणमा लिएको थियो । घटनामा १० जना विरुद्ध अनुसन्धान अघि बढाएको प्रहरीले पाँच जना नियन्त्रणमा लिएको छ भने पाँच जना फरार रहेका छन् ।

Exit mobile version