भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईंले राप्ती नदीको सिधनियाघाटमा निर्माण गरिने बैंकुण्ठधामका लागि आर्थिक सहयोग गरेका छन् ।
डा. चापागाईले आफ्ना हजुरबुबा स्व. हितलाल चपाईको स्मृतिमा बाँकेको राप्ती किनारमा निर्माण गरिने बैकुण्ठ सिधनियाघाट परियोजनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका हुन् ।
नेपालगन्जमा हिन्दु धर्मावलम्वीहरू देहत्याग पछिको परम्परागत दाहसंस्कारलाई व्यवस्थित गर्न अभियानमा छन् । अभियानको नाम हो, बैकुण्ठधाम सिधनियाघाट निर्माण । बाँकेको डुडुवा–५, राप्ती तटमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान थालिएको हो ।
जसको नेतृत्व डा. सुरेश कुमार कनोडियाले गरेका छन् । जहाँ हरकोही पेशाकर्मी, व्यवसायी, दल, समुदाय जोडिएर अभियानलाई पूर्णता दिन अग्रसर छन् । बैकुण्ठधामको सदस्यता अभियान आज १६ श्राद्धको पहिलो दिनबाट सुरु हुँदैछ । ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’ भन्ने अवधारणाका साथ सदस्यता अभियान सुरु गरिएको कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । बैकुण्ठधाम निर्माणका लागि आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्जमा बैंकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिंदैछ । त्यसका लागि वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्दैछन् । उनको अगुवाईमा हुने आध्यात्मिक महोत्सवमा धार्मिक तथा आध्यात्मिक प्रवचनहरु हुने आयोजक मूल समितिका महासचिव श्रीराम सिग्देलले जानकारी दिए ।
‘त्यसका लागि मूल समिति र तमाम उपसमितिहरु सक्रिय भएर लागेका छन्’, महासचिव सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘यो अभियान नितान्त कुनै एकाध व्यक्ति वा समूह भन्दा सिंगो समाजको हो ।’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष समेत रहेका सिग्देलले राप्तीनदी सिधनियाघाट क्षेत्रलाई आध्यात्मिक पर्यटनको गन्तव्य थलो बनाउने अभियान चालिएकाले पनि यो महत्वपूर्ण आयोजना भएको बताए ।