सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ । पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको चियाखेती उपभोगविहीन बनेको हो । डेढदशक अघि लगाइएको चियाखेती मौलाउँदै गएको भए पनि संरक्षण गर्ने, उत्पादन गर्ने र बिक्रीवितरण गरेर आम्दानी लिन स्थानीय गाउँपालिकाले चासो नदेखाउँदा अलपत्र बनेको हो ।
महाशिला गाउँपालिकाले हरेक वर्ष रु एक लाखका दरले विनियोजन गरी चियाखेती गरिएको ठाउँमा तारबार लगाउने र पशुपक्षी जानबाट रोकेपनि उत्पादित चिया टिप्ने, प्रशोधन गर्ने लगायतका काम गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । उहाँले स्थानीयको सहभागितामा चिया विकास समिति गठन गरेर अघि बढ्ने योजना बनाएको दाबी गर्नुभयो । बर्सेनि चिया टिप्ने र प्रशोधन गरेर बिक्री गर्न सकेमा गाउँपालिकालाई ठूलो रकम आम्दानी हुने भए पनि यसतर्फ जनप्रतिनिधिको प्राथमिकता नपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताउनुभयो । साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चिया खेतीबाट वार्षिक रुपमा लाखौँको आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
झण्डै डेढदशक अघि लगाइएको चियाखेतीबाट पहिलो पटक दुई वर्षअघि १० किलो अर्गानिक हरियो चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनः अलपत्रजस्तै बनेको महाशिला गाउँपालिका–६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिनुभयो । यहाँ ४० हजार भन्दाबढी चियाका बोट रहेका छन् । अधिकांश बोटबाट उत्पादन लिन सकिन्छ भने केही नयाँ बिरुवा रहेको विकले बताउनुभयो । विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उतिवेला बीस हजार बिरुवा लगाइएकोमा पछि गाउँपालिकाले केही बिरुवा थप गरेर ४० हजार पु¥याएको थियो । पाँच वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताउनुभयो ।
साविक फलामखानी गाविस– ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकोले यहाँ चिया खेतीको सम्भावना उच्च रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । एक हजार आठ सय मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो । साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जिवित्तै रहेका थिए ।
अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेको भए पनि पर्याप्त बजेट र दक्षजनशक्ति नहुँदा समस्या भएको स्थानीय लक्ष्मण सुनारले बताउनुभयो । उहाँका अनुसार कुनै संस्था वा पालिकाले नै लगानी गरेर यसको उत्पादन र प्रशोधन गर्न सकेमा वार्षिक लाखौँ आम्दानी गर्न सकिने बताउनुभयो । यहाँबाट टिपेर चिया विकास बोर्ड वा इलाम, झापासम्म पु¥याउन सक्ने हो भने आम्दानी र रोजगारी दुवै सिर्जना हुने उहाँको भनाइ छ । दुई वर्ष अघि गण्डकी प्रदेशवाट लक्षित कार्यक्रम अन्तर्गत विनियोजन भएको रु २० लाखबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको भए पनि स्थानीयलाई चिया टिप्ने, प्रशोधन गर्ने तालिम वा कतैबाट तालिम प्राप्त जनशक्ति नियुक्त गर्न नसक्दा लाखाँै मूल्य खेर फाल्नुपरेको स्थानीयको भनाइ छ ।