बाँकेमा पछिल्लो दुई महिनामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार, चालु आ.व. २०८१÷०८२ को साउन र भदौमा मात्रै बाँकेमा भएका २५ वटा सवारीसाधन दुर्घटनामा १२ जनाको ज्यान गएको हो । असोज महिनाको बुधबार राती भएको दुर्घटनामा थप तीन जनाको मृत्यु भएको छ ।
ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई पनि प्रहरीले कारवाही गर्दै आएको छ । चालु आ.व.को साउन र भदौमा ट्राफिक प्रहरीले कुल ५ हजार १ सय २८ सवारी साधन तथा चालकलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उक्त कारवाहीबाट ४० लाख २९ हजार रूपैयाँ जरिवाना राजश्व ट्राफिक प्रहरीले असुली गरेको छ ।
जरिवानाको कारवाहीले मात्रै बाँकेमा सवारी दुर्घटनामा कमी आउन सकेको तथ्यांकमा देखिंदैन । ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम बढाउँदै लगेपनि ट्राफिक नियम पालनाको अटेरीका कारण दुर्घटना र त्यसबाट ज्यान जानेहरूको संख्यामा कमी आउन सम्बद्ध प्रहरी अधिकारी बताउँछन् ।
खासगरी ट्राफिक नियम उल्लंघनका कारवाही जरिवानामा मात्रै सीमित हुँदा त्यसले परिवर्तन ल्याउन नसकेको स्थानीय बताउँछन् । ‘लाइसेन्स, ब्लुबुक नहुँदा जरिवाना गरेर छाड्नु सामान्य हो तर ओभरलोड, मापसे, तिव्र गतिमा जरिवाना लिएर मात्रै छाड्दा बेथिति बढेको छ’ स्थानीय भन्छन् ।
बाँकेमा पछिल्लो तीन बर्षमा भएका दुर्घटनाको घटनामा अकालमा २ सय ८ जनाको मृत्यु भैसकेको छ । दुर्घटनामा आर्थिक बर्ष २०७८÷०७९ मा ८२ जना, आर्थिक बर्ष २०७९÷०८० मा ६० र आर्थिक बर्ष २०८०÷०८१ मा ६६ जनाको मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ५४, आर्थिक बर्ष २०७९÷०८० मा १ सय २४, आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ५८ वटा दुर्घटना
भएका छन् । गत आ.व.मा भएका १ सय ५८ दुर्घटनामा ४८ पुरुष, १६ महिला र २ बालकको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक रहेको छ ।
बाँकेमा ट्राफिक उल्लंघन गर्ने क्रम बढ्दो रहेको कारवाहीको तथ्यांकबाट देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०८०÷८१ मा ३३ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार, आर्थिक बर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लंघन गर्ने ३३ हजार ९ सय १३ वटा सवारीसाधनलाई कारवाही गरिएको हो । उनीहरूलाई २ करोड ६५ लाख ७६ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ४ लाखले बढी हो ।
बाँकेमा आर्थिक बर्ष २०७९÷८० मा ट्राफिक प्रहरीले ४३ हजार ८ सय ४० वटा सवारी साधनलाई कारवाही गरेको थियो । उक्त कारवाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७८÷७९ मा ट्राफिक प्रहरीले ३९ हजार ८ सय ४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो । उक्त आ.व.मा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५ सय रूपैयाँ जरिवाना असुली गरेको थियो । कतिपय बेला ट्राफिक प्रहरीले नियम पालना नगरेका सवारीसाधनलाई कारवाही गर्दा विवाद समेत सिर्जना हुने गरेको छ । बाँकेमा तिव्र गति, मापसे, सडक, छाडा पशुचौपाया लगायत दुर्घटनाका प्रमुख कारण रहेको ट्राफिक प्रहरी बताउँछन् । इरिक्सा आवश्यकता भन्दा बढी हुँदा पनि त्यसले ट्राफिक अव्यवस्था निम्त्याएको प्रहरी अधिकारी बताउँछन् ।