देशमा आजः ८ बजे ८ खबर

  1. सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।
  2. जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई शान्ति क्षेत्र घोषणा किन गर्ने भन्ने कुराको महत्त्व बढ्दै गएको बताएका छन् ।
  3. प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
  4. अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो ।
  5. कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
  6. म्याग्दीको रघुगंगा गाउँपालिकामा बनिरहेको ४० मेगावाट क्षमताको रघुगंगा हाइड्रो पावरको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ ।
  7. न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा समस्या भइरहेको बताए ।
  8. नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
Exit mobile version