देशमा आजः ८ बजे ८ खबर

  1. यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलका अनुसार, यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।
  2. सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
  3. उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित सहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका सिंहले मन्त्रालयमा नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीसँगको भेटमा निजी क्षेत्रलाई सहभागी गराउने बताएका हुन् ।
  4. कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानका समस्या अध्ययन गर्न एक समिति गठन गरेका छन् । आइतबार मन्त्रालयमा बसेको सरोकारवाला सहभागी बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन भएको हो ।
  5. कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद हुँदा लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । कांग्रेसको भागमा रहेको दुई कोटामा मन्त्री छान्न ढिलाइ हुँदा त्यसको असर सरकार विस्तारमा पनि परेको हो ।
  6. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक संघसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी हुनुपर्ने बताएका छन् ।समाज कल्याण परिषद्‌द्वारा आइतबार आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा मन्त्री सुडीले सामाजिक संघसंस्था समाजप्रति उत्तरदायी हुने हुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताए ।
  7. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । आयोजनाको इन्टेकको आइतबार निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पु¥याउन निर्देशन दिएका हुन् ।
  8. बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
Exit mobile version