फर्कियो सडकको उज्यालो

झण्डै दुई महिनादेखि निभेको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको सडक बत्ती बलेको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टका अनुसार, उपमहानगरपालिकाले आफ्नै खर्चमा राँझादेखि जमुनाहसम्मको सबै सडक बत्ती बाल्ने व्यवस्था मिलाएको हो ।

कमसल उपकरण भएका कारण एक बर्ष नपुग्दै झण्डै १० करोड लागतको सडक बत्ती दुई महिना अघि देखि निभेको थियो । दैनिक नेपालगन्जले त्यसबारे निरन्तर समाचार सम्प्रेषण गरिरहेपछि दबाबमा रहेको नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक स्रोतबाटै मर्मत सम्भार गरी सडकको उज्यालो फर्काएको हो । ‘नगर अँध्यारो हुँदा नेपालगन्ज उपमहानगरपालिका जिम्मेवारीबाट पन्छिन मिल्दैन’, नगर प्रमुख विष्टले आन्तरिक बजेट विनियोजन गरी सडक बत्ती सुचारु गरिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘एक बर्ष पनि नभएकाले यसको जिम्मेवार निर्माण कम्पनी भएकाले दशैंमा ठेकेदार आएर यसबारे थप अध्ययन गरी उसलाई जिम्मेवार बनाउने काम गरिनेछ ।’

त्यसबाहेक कतिपय ठाउँमा जडान गरिएका हाइमाष्ट लाइट विद्युत महसुलको समस्याले नबलेको प्रसंगमा नगर प्रमुख विष्टले त्यसबारे विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी बाल्ने व्यवस्था मिलाउने बताए । ‘सडक बत्तीको महसुलको समस्या देशैभरी छ’, नगर प्रमुख विष्टले प्राधिकरणले स्थानीय सरकारसँगको महसुल विवादमा नेपालगन्जमा कुनै पनि सडक बत्तीको विद्युत अवरुद्ध नगर्ने विश्वास व्यक्त गर्दै भने, ‘यसको समाधान राष्ट्रिय रूपमै सरकारले खोज्नु पर्छ ।’

सडक बत्तीमा प्रयोग भएको कमसल उपकरणको जाँचबुझ र ठेकेदार कम्पनीलाई गर्नुपर्ने कारवाहीबारे भने नगर प्रमुख विष्टले जिम्मेवार निकायबाटै त्यसको खोजी अनुसन्धान र कारवाही हुनेमा विश्वास व्यक्त गर्दै भने, ‘हामी हाम्रो कार्यक्षेत्रबाहेकमा बोलिहाल्न मिल्दैन ।

Exit mobile version