देशमा आजः ८ बजे ८ खबर

  1. सहकारीको बचत अपचलन गर्ने रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् ।
  2. नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् ।
  3. जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । भारतबाट अवैधरुपमा ओसारपसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सुरक्षा जाच कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
  4. सामाजिक सञ्जालको सूचनामा मात्र भर नपर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्तालाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा एक पक्षीय रुपमा आउने सूचनाका आधारमा मात्र लगानी निर्णय गर्दा जोखिम हुने भएकाले ती सूचनाहरुलाई राम्रोसँग प्रमाणित गर्न नेप्सेले आग्रह गरेको हो ।
  5. मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
  6. आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ९८ नै खारेज गर्ने गरी आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय गरेको छ । ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै पटक वा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने छ भन्ने व्यवस्था थियो ।
  7. विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।
  8. जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए ।
Exit mobile version