सामाजिक सञ्जालबाट लाखौंको ठगी

विनय दीक्षित

अहिलेको संसार डिजिटल युगतिर छ । सबैको हातमा मोबाइल र इन्टरनेट छ । यसको प्रयोग सही तरिकाले भएन भने कति क्षति हुन्छ त्यसै विषयमा यो रिपोर्ट आधारित छ ।

फेसबुक चलाउँदै गर्दा नेपालगन्ज ६ एमपीस्कूल रोड बस्ने अल्ताफ हुसेन (परिवर्तित नाम) लाई मनीषा कुमारी नामको फ्रैन्डरिक्वेस्ट आयो । प्रोफाइल फोटोमा सुन्दर युवतीको तस्वीर हेरेपछि हरेक ब्यक्तिले लगभग सहजै फ्रैन्डरिक्वेस्ट एसेप्ट गरि म्यासेन्जरका माध्यमबाट कुराकानी सुरु गर्ने प्रयास गरे ।

अल्ताफ र मनीषाको कुराकानी हुने क्रममा अश्लील भीडियोको लिंक अल्ताफको म्यासेन्जरमा आउँछ, उनी लिंक प्ले गरेर हेर्छन् त आफ्नै भीडियो कुनै युवती संग इडिट गरेर बनाइएको थियो । उनी भिडियो हेरेर आत्तिएपछि मनीषालाई सम्पर्क गरेर किन यस्तो भिडियो बनाएको ? भनी सोधे ।

मनीषाको जवाफ थियो, ‘एक लाख भारतीय रूपैयाँ ट्रान्सफर गर्नुस् नत्र यो भीडियो इन्टरनेटमा अपलोड गर्छु । तिम्रो नातेदार र सम्बन्धित सबै ब्यक्तिलाई पठाउँछु ।’ यति सुनेपछि अल्ताफ रकम दिन तयार भए, तर उनले शर्त राखे रकम पाएपछि मेरो भिडियो डिलीट हुनु पर्छ ।

अल्ताफ दास्रो दिन एक लाख ब्यवस्था मिलाएर रूपैडिहा पुगेर पैसा ट्रान्सफर गराए । तर मनीषाले पुनः रकम माग गर्न भने छाडिनन् । उनी कानूनी कारवाही गर्न पनि डराइरहेका छन् । ‘मैले कारवाही गर्दा भिडियो भाइरल होला भन्ने डर छ’, दैनिक नेपालगन्ज संग अल्ताफले भने, ‘निरन्तर रकम माँग गरी रहेकोले ब्यापक तनावमा छु ।’

दुई महिना पहिला यस्तैगरि मौलाना युसुफ (परिवर्तित नाम)लाई म्यासेन्जरमा चिनजान सुरु भयो । उनले अश्लील भिडियो हेर्दै
आफ्नो पनि अश्लील भिडियो मनीषा कुमारीलाई पठाए । केहि दिन पछि युसुफलाई पनि रकम माँग गर्दै भिडियो आयो । उनी संग ३ लाख रूपैया माग गरियो । उनले भिडियो डिलिट हुने शर्तमा उक्त रूपैया भुक्तान गरे । तरपनि निरन्तर अझै रकम माग गर्दै भिडियो पठाउने क्रम जारी छ । उनले भने, ‘अनावश्यक फसादमा परिएको छ ।’

नरैनापुर बस्ने अतुल तिवारी (परिवर्तित नाम) पनि मनीषा कुमारीको शिकार भए । उनले एकै पटक रकम नदिएर मासिक रूपमा २० हजार तिर्दै आएका छन् । ‘पाँच पटक रकम पठाएको छु’, उनले दैनिक नेपालगन्ज संग भने, ‘टाइममा पैसा नपठाएपछि भिडियो भाइरल गर्ने धम्की आउँछ । बाध्य भएर रकम पठाउँदै आएको छु ।’

उल्लेखित पात्रहरूबाट घटनाको चित्रण गरिएको छ, यद्यपि मनीषा कुमारीको ठगीमा हाइप्रोफाइल ब्यक्तिहरू धेरै छन् । उनीहरूले सामाजिक डरका कारण प्रहरी कारवाही अघि नबढाएको भएपनि मनीषा कुमारी (फेसबुक एकाउन्ट) संग दैनिक नेपालगन्ज टीमले सम्पर्क गरेको छ । तर मनीषा कुमारीले आफै म्यासेन्जरमा कुराकानीको सुरुवात गर्छिन् । प्रोफाइलमा ठेगाना भारतको मुम्बई लेखिएको भएपनि मनीषा कुमारी भारत श्रावस्ती जिल्लाको रहिछन् र उनी महिला नभई पुरुष हुन् । उनले आफ्नो नेटवर्कमा सयौं ब्यक्तिहरू रहेको र उनीहरूबाट नियमित रकम असूल गर्दै आएको बताए । मनीषा कुमारीको नामबाट फेसबुक चलाउँदै आएका युवाले धम्की दिँदै भने, ‘तिमीहरूको पहुँच म सम्म हुनै सक्दैन । तिमीहरूको क्षमता छ भने मलाई समातेर देखाउ ।’

मनीषा कुमारी नामबाट व्ह्वाट्सएपमा +९१९१०९१५१३५८ र +९१६३७८९२५८२९ नम्बरहरू सक्रिय रहेको र यसै नम्बरलाई प्रयोग गरि रकम माग गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी एम बहादुर बुढा मगरले बाँकेमा यस्ता घटना भइरहेको बारे हाल सम्म कुनै उजुरी प्राप्त नभएको बताए ।
‘कुनै ब्यक्तिले फेसबुककै माध्यमबाट अश्लील भिडियोको डर त्रास देखाएर रकम असूल गर्ने सम्मको काम गर्दै आएको छ भने कारवाही हुन्छ’, सूचना अधिकारी बुढामगरले भने, ‘पीडितहरूले प्रहरीमा उजुरी गरेको खण्डमा अनुसन्धान अघि बढ्छ ।’
भारतबाट पक्राउ गर्न सम्भव छ त ?
प्रहरीलाई प्राप्त भएको उजुरीमा कुनै अभियुक्त देश बाहिर रहेछ वा विदेशी नागरिक हो भने त्यसलाई पक्राउ गर्ने अधिकार इन्टरपोललाई हुन्छ । प्रहरी स्रोतका अनुसार व्हटस्एपबाट भएको अपराध बारे अनुसन्धान गर्न कठिन छ । ‘माग गरेको विवरणहरू व्हटस्एपले सजिलै उपलब्ध नगराउने हुँदा अनुसन्धान कठिन हुन्छ’, अनुसन्धान अधिकारीहरू भन्छन्, ‘फेसबुकबाट भएको अपराध बारे सहजै विवरणहरू प्राप्त हुँदै आएको छ ।’
‘भारतमा बसेर नेपालमा कुनै अपराध गरिरहेको ब्यक्तिको हकमा कारवाही असम्भव हुँदैन, यद्यपि प्रक्रिया अलिक जटिल र लामो हुन्छ’, एक अनुसन्धान अधिकारीले भने, ‘यद्यपि यस्ता घटनाको हाल सम्म उजुरी आएको छैन, आएपछि कारवाही अघि बढ्छ ।’
‘भारतमात्रै हैन अन्य तेस्रो मुलुकबाट समेत साइबर अपराधमा प्रहरीले पक्राउ गर्दै आएको छ’, उनले भने, ‘असम्भव भन्ने विषयनै हँुदैन । विदेशी नागरिक रहेका अभियुक्तहरूको विवरण इन्टरपोलका माध्यमबाट अनुसन्धान हुन्छ ।’
इन्टरपोल विभिन्न देशहरूका प्रहरीहरू बीच सहकार्य गरी अन्तर्राष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो ।

Exit mobile version