- कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा आइतबार सरकारले बोलाएको सर्वदलीय बैठकमा बाढीपहिरोबाट प्रभावितको उद्धार, जनधनको क्षति र प्रभावितलाई राहत उपलब्ध गराउने लगायतका विषयमा छलफल भएको छ ।
- निरन्तरको वर्षापछि मुलुकका विभिन्न जिल्लालाई राजधानीसँग जोड्ने राजमार्ग र सहायक सडक अवरुद्ध भएको मौका छोपेर विमान सेवा कम्पनीहरूले आफूखुसी हवाइ भाडा वृद्धि गरेकोलाई नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
- लुम्बिनी विकास कोषका पदाधिकारीमाथि भएको हातपात र दुर्व्यवहारमा निर्माण व्यवसायीले लिखित क्षमायाचना गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा असोज ८ गते भएको घटनामा संलग्न दोषीहरुमाथि निष्पक्ष छानबिन गरी कारवाहीको प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।
- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।
- सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ हुँदै बागलुङ पठाएको छ ।
- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण संकलनगरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
- एडिज जातको संक्रमित लामखुट्टेले टोकेमा हुने डेंगी चितवनमा फैलँदो छ । चितवनको जनस्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार साउनदेखि शनिबारसम्म चितवनमा डेंगी संक्रमण हुनेको संख्या १ हजार २ सय ३७ पुगेको छ ।
- बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।