भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि सरकारले नै प्रतिबन्ध लगाएको छ । तर, नेपालगन्ज भन्सार हुँदै भारतबाट अखाद्य तेल भित्रिरहेको छ ।
हिन्दुहरूको महान् पर्व दशैं भित्रिंदै गर्दा सीमापारीबाट खुलेआम अखाद्य तेलको आयात पनि बढेको देखिएको छ । सीमानाकामा खटिएका प्रहरीले घरायासी प्रयोजन भन्दै भारतबाट भित्र्याइएका खाद्य पदार्थलाई बेवास्ता गर्दा सबैभन्दा बढी तेल भित्रिएको हो ।
दशैं, तिहार, छठ पर्वलाई लक्षित गर्दै ठूलो मात्रामा उपभोक्ताहरू आफै रूपैडिहा पुगेर अखाद्य तेल भित्र्याउँदा उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या आउने जोखिम त छँदैछ, तस्करीको बाटो समेत त्यस्ता अखाद्य तेल भित्रिंदा अवैध कारोबारले पनि तिव्रता पाएको देखिन्छ ।
‘हामीलाई त्यसखालको गुनासो आएकाले विभिन्न पसलहरूमा अनुगमनका क्रममा अखाद्य तेल बिक्री, वितरण भैरहेको भए निगरानी गरी कारवाही गरिनेछ’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘सीमापारीबाट कुनै पनि अखाद्य वस्तु प्रवेश गर्न दिनुहुँदैन भन्ने कुरामा सरकारी संयन्त्रहरू सचेत हुनैपर्छ ।’ खत्रीले आफ्नो कार्यालय मार्फत पनि उपभोक्ता सचेतनामा काम गर्ने जानकारी दिंदै उपभोक्ता हितका क्षेत्रमा क्रियाशिल संघ, संस्थाहरू त्यसतर्फ संवेदनशील भैदिनुपर्ने आवश्यकता औंल्याए ।
विभिन्न ब्राण्डका नक्कली लोगो प्रयोग भएका तेलदेखि ब्राण्डविहीन तेलहरू भारतबाट भित्रिरहेको व्यवसायीहरू पनि स्वीकार्छन् । ‘उपभोक्ताले सस्तो मात्रै खोजिदिंदा भोलि त्यसले स्वास्थ्यमा पार्ने असर बारे जिम्मेवार भएको पाइएन’, व्यापारी भन्छन्, ‘खुलेआम अखाद्य तेल बिक्री तथा आयात भैरहँदा पनि सरकारी निकाय मौन बसेजस्तो भयो ।’
ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बेचबिखन भइरहेको छ । हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
सस्तो पर्ने भएकाले क्यारिङबाट भित्र्याएर अखाद्य तेलको प्रयोग भैरहेको उपभोक्ता बताउँछन् ।