१. बडादसैंका क्रममा आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजन टाढा टाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।
२.
बाँकेका थारू गाउँ अहिले ‘सखिया नाच’ को रौनकले रमाएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो ।
दसैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् ।
३.
बडादसैँको पछिल्लो दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।
४.
चितवनमा यस वर्षको दसैँमा टीका लगाउन आउँदा विगतमा जस्तो बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले होइन दूध, दही र मोहीले स्वागत सत्कार गरिएको छ । आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतनाको अभियान स्वरुप अतिथिलाई घरेलु उत्पादनले स्वागत सत्कार गर्न थालिएको हो ।
५. बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’मा नेपाली सेनालाई स्वर्ण पदक प्राप्त भएको छ।
६. पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई पूर्ववत् टीका लगाइदिएका छन्।
शनिवार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सयौं सर्वसाधारणलाई लगाइदिएका हुन्।
७.नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
८. डडेल्धुरामा किशोरीको हत्या आरोपमा स्थानीय व्यापारी पक्राउ परेका छन् । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय ५८ वर्षीय टेकबहादुर भण्डारी आइतबार सार्वजनिक गरिएको थियो ।