१.
दसैंको फूलपातीदेखि घटेको राजधानी काठमाडौं उपत्यकाको चहलपहल आजबाट पुनः बढ्न थालेको छ ।
दशैंमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौँका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
२.
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
३.
आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएर विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ। पक्राउ पर्ने परोहा नगरपालिका २ का ३५ वर्षीय सुनिल कुमार बैठा हुन्।
४.
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।
५.
बझाङको खप्तडछान्ना गाउँपालिका–४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड भएकाे छ।
अज्ञात समूहले टावरमा तोडफोड गर्दा क्षति भएपछि सञ्चार सेवा प्रभावित बन्न पुगेको छ। खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले ताेडफाेड गरेकाे हाे।
६.
यस वर्षको दसैँमा यहाँ रु १६ करोड मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ।
सदरमुकाम खलङ्गा बजारमा मात्रै रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडा र खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिए।
७.
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् ।
स्थानीय प्रहरीका अनुसार, सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको हो ।
८
हिमाली जिल्ला हुम्लामा दसैँको दसमी अर्थात् टिकाको दिनमा मान्यजनलाई लगाई दिने पिठाहा (निधारमा फापरको पिठो, कानमा जमरा) लगाउने चलन हराएर गएको छ । आधुनिकता भित्रिएसँगै दसैँमा अक्षेता र जमरा मात्र लगाउने चलन आएपछि यो पिठाहा लगाउने चलन हराएको हो ।