बाँकेमा एकै महिनामा १ सय १९ वटा अपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, गत असोज महिना अपराधिक घटनाका १ सय १९ मुद्दामा १ सय ७ जना पक्राउ भएका हुन् ।
असोज महिनामा प्रहरीले २५ वटा पेन्डिङ्गमा रहेको मुद्दाहरू समेत फस्र्यौट गर्न सफल भएको छ ।
असोज महिनामा बाँके प्रहरीमा ६ सय ११ वटा ठाडो उजुरी परेको थियो । जसमध्ये ४ सय ११ उजुरी फस्र्यौट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । प्रहरीले ९३ वटा मुद्दा फस्र्यौट गर्न बाँकी रहेको जानकारी दिएको छ ।
१० बर्ष कैद असुलीका लागि ५२ पक्राउ
प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अपराधीहरूलाई धमाधम पक्राउ गरी कानुनी दायरामा ल्याइरहेको छ । गत असोज महिनामा मात्रै बाँके प्रहरीले ५२ जना फरार अपराधीलाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार, पक्राउ परेका फरार अपराधीहरू १० बर्ष ११ दिन कैद र १ लाख २४ हजार ८ सय ५९ असुल हुनेछ । जिल्ला प्रहरी कार्यालय बाँकेले कैद तथा जरिवाना भई फरार रहेका डाँकाचोरी, ज्यान मार्ने उद्योग, लागुऔषध, ठगी, चोरी, सवारी ज्यान, बैंकिङ्ग कसुर लगायतका विभिन्न अपराधमा सजाय पाएकाहरूलाई नियन्त्रणमा लिई अदालतमा बुझाउँदै आएको छ ।
झण्डै ३ हजार सवारीलाई कारवाही
गत असोजमा बाँकेमा झण्डै ३ हजार सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई प्रहरीले कारवाही गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गत असोज महिनामा मात्रै बाँकेमा २ हजार ६ सय ७७ वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । कारवाहीबाट २४ लाख ४ हजार ५ सय राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा ३० पक्राउ
बाँकेमा लागुऔषधको चुनौति कम हुन सकेको छैन । नियमित जसो लागूऔषध बरामद र पक्राउ घटना भैरहेका हुने गर्दछन् ।
बाँकेमा जिल्लाका मात्रै नभई बाहिरी जिल्लाबाट लागुऔषध खरिद गरी सेवन गर्ने र बिक्री गर्नेहरू आउने गरेको प्रहरीको तथ्यांकबाट देखिन्छ । भारतसँग सीमा जोडिएका कारण ब्राउन सुगर लगायतका लागुऔषध खरिदका लागि बाँके बाहेकका जिल्लाबाट समेत मानिसहरू आउने गरेको पाइन्छ ।
गत असोज महिनामा मात्रै बाँके प्रहरीले ३० जनालाई लागुऔषध सहित फेला पारेको छ । प्रहरीका अनुसार, उनीहरूसँग कुल ३ सय ६३ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर, २८ ट्याबलेट नाइट्रोजेपाम, ट्रामाडोल ९८ ट्याबलेट बरामद भएको थियो ।
बाँकेमा लागुऔषधको समस्या झांगिदै गएपछि कारवाहीसँगै सुधारको प्रयास पनि हुँदै आएको छ । बाँकेमा दर्जन बढी सुधारकेन्द्रहरू लागुऔषध दुव्र्यसनीको सुधार र उपचारका सहयोग पुर्याउन सक्रिय रहेका छन् ।