सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
यसअघि गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले उहाँलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकामा उक्त म्याद शुक्रबार सकिएपछि आज अदालत उपस्थित गराइएको थियो । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो ।