मुलुकमा व्याप्त आर्थिक मन्दीले उद्योग धन्दा, कलकारखाना सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले समाधानका लागि सरकारले नीतिगत रूपमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेपालगन्जमा मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति बाँकेको २५औं साधारणसभा तथा १३औं अधिवेशन एवं महिला उद्यमी समितिको १२औं साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले देशैभरीका उद्योगधन्दाहरू यही अवस्थामा सञ्चालन सम्भव नभएको औंल्याए ।
महासंघका केन्द्रीय अध्यक्ष सिंहले तीन वटै तहका सरकारले उद्योग, धन्दा कलकारखाना सञ्चालनका लागि नीतिगत रूपमै सहयोगी भूमिका खेल्नु पर्ने धारणा राख्दै भने, ‘यसबाहेक उद्योग चल्ने अवस्था छैन ।’ उनले यस्तै अवस्था रहीरहे उद्योग धन्दा बन्द गरेर उद्योग सञ्चालकहरू विदेश पलायन हुनुको विकल्प नरहेको बताए ।
महासंघका जिल्ला अध्यक्ष मधु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु कार्यालय बाँकेका प्रमुख रमेश बुढाथोकी, नेपालगन्ज उपहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगर लगायतले बोलेका थिए । जिल्ला अध्यक्ष खड्काले स्थापनाको लामो समयसम्म निष्क्रिय प्राय रहेको महासंघको बाँके शाखा आफ्नो नेतृत्वमा आएपछि जुर्मुराएको बताइन् । दुई वटा पालिकामा भवन समेत बनाउन सफल महासंघका सबै पालिका समितिलाई सक्रिय बनाइएको अध्यक्ष खड्काले बताइन् । साधारणसभाको औपचारिक सत्र सञ्चालन गर्दै महासचिव जिआर भुसालले महासंघको जिल्ला शाखालाई विद्यमान नेतृत्वले उत्साहजनक हैसियतमा पुर्याएको बताए ।