देशमा आजः ८ बजे ८ खबर

  1. प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन गर्दै उनले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए ।
  2. गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् ।
    मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन् । कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको थियो ।
  3. नेपाल विद्युत्‌ प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो ।
  4. नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।
  5. रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौं विश्वविद्यालय (केयू) सँग सम्झौता भएको छ । बुधबार भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौं विश्वविद्यालय (कन्सल्टेन्सी विभाग) का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
  6. क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत निकायलाई परिपत्र गरेको छ । गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई समेत परिपत्र गरेको हो ।
  7. प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।
  8. नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।
    विराटनगरमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै कांग्रेस-एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने बताएका हुन् ।
Exit mobile version