राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगन्जमा हुने भएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दै आएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको घोषणा गर्दै क्लबका अध्यक्ष प्रदिप सापकोटाले भने, ‘सबैको वर्गका खेलका लागि खेलाडीहरूको नाम दर्ता आव्हान गरिएको छ ।’
आयोजना नेपालगन्ज साइक्लिङ्ग क्लबले दिएको जानकारी अनुसार, मंसिर ३० गतेसम्म नाम दर्ता गरिसक्ने खेलाडीहरू एमटीबी पुरुष तर्फ खुल्ला ३६ किलोमिटर, पुरुष मास्टर्स खुल्ला २५ किलोमिटरका लागि सहभागी हुन सक्नेछन् ।
त्यस्तै, साधारण साइकल पुरुष तर्फ २२ किलोमिटर र साधारण साइकल महिला १६ किलोमिटर तर्फका खेलाडी बाँके जिल्लाबाट मात्र सहभागी हुने व्यवस्था मिलाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
त्यस्तै, २० बर्ष उमेर समूहका विद्यार्थीहरूका लागि एमटीबी स्कुल स्तरीय १६ किलोमिटर साइकल दौड प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यार्थीहरू मात्रै सहभागिता जनाउने व्यवस्था मिलाइएको छ । ‘मेयर कपको सातौं संस्करणलाई अझ भव्यता दिन तयारीका आवश्यक काम अगाडि बढाउने निर्णय गरिएको छ’, बुधबार बसेको बैठकले सातौं संस्करण तय गरेको जानकारी दिंदै अध्यक्ष सापकोटाले भने, ‘नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज साइक्लिङ्ग क्लबसँगको सहकार्यमा यो इभेन्टलाई राष्ट्रिय स्तरको बनाउँदै अगाडि बढाउने कुरामा आश्वस्त पारेको छ ।’