बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदी किनारमा बहुआयामिक वैकुण्ठधाम परियोजना निर्माण सहयोगार्थ आयोजना गरिएको धार्मिक महोत्सवबाट २ करोड बढी बचत भएको छ । वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर धार्मिक महोत्सवबाट २ करोड २८ लाख ७ हजार ६ सय २७ रूपैयाँ बचत भएको जानकारी दिएको छ ।
मूल समारोह समितिका कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले वैकुण्ठधाम परियोजना निर्माणका लागि थप रकम आवश्यक पर्ने भएकाले आर्थिक संकलन अभियानलाई निरन्तर जारी राख्ने बताएका छन् । त्यसका लागि प्रतिबद्धता पनि आएको उनले बताए । ‘काम अगाडि बढाउनुस् सहयोग गर्छौ भन्ने प्रतिबद्धता पनि पाएका छौं’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘अब काम र आर्थिक संकलन सँगसँगै अगाडि बढाउने छौं ।’ उनले थप अढाई करोड उठाउने लक्ष्य रहेको बताए । वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका संयोजक डा. सुरेश कुमार कनोडियाको अध्यक्षमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष श्रेष्ठले घोषणा गरेको उठ्न बाँकी ६० लाख ४४ हजार ४७ सहित ३ करोड ३ लाख १५ हजार ४ रूपैयाँ आम्दानी र ७५ लाख ७ हजार ३ सय ७७ रूपैयाँ खर्च भएको जानकारी दिए ।
समितिका महासचिव श्रीराम सिग्देलले सञ्चालन गरेको कार्यक्रममा मूल समितिका सहसंयोजक मधुसुदन शर्मा रिजाल, नन्दलाल वैश्य लगायतले बैकुण्ठधामको अभियानलाई विश्राम नदिइने बताउँदै यसको सफलतामा सबैको सहभागिता आवश्यक रहेको बताए ।
पत्रकार सम्मेलनमा मूल समितिका संयोजक डा. कनोडियाले महोत्सवका लागि गठित मूल समिति तथा विभिन्न उपसमिति सँगै सचिवालय समेत विघटन गरिएको घोषणा गरे । ‘अब महोत्सवका आध्यात्मिक गतिविधिहरू पूर्ण विराम लागेपनि बैकुण्ठधाम निर्माण कार्यले तदारुखता पाउनेछ’, बैकुण्ठधाम सिधनियाघाट संस्थाका अध्यक्ष समेत रहेका डा. कनोडियाले भने, ‘यो अभियानमा जोडिएर सिधनियाघाटलाई आध्यात्मिक गन्तव्य बैकुण्ठधाम निर्माणका लागि देश विदेशबाट जो कोही पनि जोडिन सक्नुहुनेछ ।’ डा. कनोडियाले कुनै पनि हालतमा बैकुण्ठधाम निर्माण गरेरै आफुले
विश्राम लिने प्रतिबद्धता दोहोर्याए ।