उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारुले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयनमा सबैको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिएका छन् । एडभोकेसी फोरम नेपाल, बाँके जिल्ला अदालत र बाँके जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा फौजदारीन्याय, कार्यान्वयन अवस्था र सुधारका पक्षहरू बिषयक परामर्श बैठकलाई सम्बोधन गर्दै न्यायाधीश शारुले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयनका लागी अभाव, प्रभाव र दवावबाट मुक्त भई कार्य गर्न सके मात्र सङ्लो न्याय दिने सकिने बताए ।
कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले फौजदारी कानूनको उचित प्रक्रिया ÷ निष्पक्ष सुनुवाइको माध्यमबाट दोषिलाई सजाय दिने, सुधार्ने, निर्दोषको रक्षा गर्ने तथा पिडितलाई न्याय गर्ने उद्देश्यबाट फौजदारी न्याय सम्पादन हुनु पर्नेमा जोड दिए । अपराधको अनुसन्धान, अभियोजन र न्याय सम्पादनमा कमीकमजोरी रहेको उल्लेख गर्दै जिल्ला न्यायाधीश प्रसाईले पीडितको न्याय, दण्डहिनताको अन्त्य, आम नागरिकमा न्याय प्रतिको भरोसा, अनुसन्धान, अभियोजन र समग्र न्याय सम्पादन प्रति जनताको आस्था एवं विश्वास बढाउनका लागी फौजदारी न्याय सम्बद्ध निकायले जिम्मेवारीपुर्वक कानूनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताए ।
कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले फौजदारी न्यायका क्षेत्रमा सुधार हुदै गए पनि हिरासतमा हुने यातना र गैर कानूनी थुनाका घटनाको रोमथाम हुन नसकेको तथ्य प्रस्तुत गरेका थिए । एडभोकेसी फोरमले हिरासत भ्रमणका क्रममा पाएका तथ्यहरू उल्लेख गर्दै संयोजक गौतमले अधिकांश थुनुवाले स्वतन्त्र रूपमा बयान गर्न नपाएको, थुनुवा पुर्जि नदिएरै पनि थुनामा राख्ने गरिएको, बालबालिकाको मुद्धामा अनुसन्धान, अभियोजन र न्याय सम्पादनमा बालन्याय कार्यबिधि अनुसारका काम हुन नसकेको भन्दै सुधार आवश्यक रहेको बताएका थिए ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगंज उच्च अदालत र बाँके जिल्ला अदालतमा जिल्ला न्यायाधीश भिष्मराज प्रसाई लगायत न्यायाधीशहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय सह न्यायाधीवक्ता अशोक राम रेग्मी, जिल्ला न्यायाधीवक्ता बिष्णु प्रसाद पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले फौजदारी न्यायका मान्य शिद्धान्तको परिपालना, पीडितको न्यायका लागी आफुहरू प्रतिवद्ध रहेको बताएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक रेशमलाल पौडेल, इलाका प्रहरी कार्यालय धनौलीका बिकाश रावतको सहभागिता रहेको थियो । यस्तै नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ,वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही, बाँके जिल्ला बार अध्यक्ष मेहर सिंह खत्री, लगायत बारमा आवद्ध अधिवक्ताहरू धु्रव प्रसाद बश्याल, लोक बहादुर शाह, इश्वरी प्रसाद ज्ञवाली,बल बहादुर चन्द, बिश्वजित तिवारीको उपस्थिति रहेको थियो । कार्यक्रममा भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा खजेन्द्रजंग शाह, बालसुधार गृहमा नौवस्ताका प्रमुख श्याम बहादुर रानाको सहभागिता रहेको थियो ।
जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्रीको अध्यक्षतामा भएकोे जिल्ला बारका सचिव अधिवक्ता जय प्रसाद पौडेलले स्वागत मन्तब्य दिदै कानूनको प्रभावकारी कार्यान्वयमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने फौजदारी न्याय सम्पद्ध निकायका पमुख तथा प्रतिनिधिले फौजदारी न्यायको कार्यान्वयनका देखिएका कमीकमजोरी हटाउन आ आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक प्रभावकारी भूमिका खेल्ने, फौजदारी न्याय सम्बद्ध निकाय बिचमा आपसी समन्वय र सहकार्य बिस्तारमा जोड दिएका थिए ।