सामूहिक प्रयासले मानव अधिकारको सम्वद्र्धन हुने उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारुले बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस÷मानव अधिकार रक्षक दिवसका सन्दर्भमा मानव अधिकार संजाल नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठतम न्यायाधीश सारुले संविधान र ऐन, कानुनले प्रत्याभूत गरेको मानवअधिकारको पूर्ण कार्यान्वयनमा निकै चुनौति रहेको बताएका हुन् । ‘मानवअधिकारको प्रत्याभूतिकाका लागि सरोकारवाला सबै इमान्दारितापूर्वक लाग्नुपर्छ’, उनले भने ।
भजनराम स्मृतिकोषका अध्यक्ष बसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका वरिष्ठतम न्यायाधीश सारुले नागरिक जन्मदै उसको स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने नैसर्गिक अधिकार रहेको बताए । यद्यपि, उनले नागरिक अधिकार सुनिश्चित गर्नका लागि ऐन, कानुन तथा संविधानमा भएका व्यवस्थाहरूको पूर्ण कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।
उच्च अदालतका वरिष्ठतम न्यायाधीश सारुले अब राज्य सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न तर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । ‘स्वतन्त्रता मात्रै दिएर हुँदैन, स्वतन्त्रा हुने र गरिबी रहने हो भने स्वतन्त्रताको मात्रै अर्थ रहँदैन, त्यसैले राज्यले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई प्राथमिकता दिनुपर्छ’, उनले भने ।
श्रेष्ठलाई भजनराम मानव अधिकार पुरस्कार
यस बर्षको भजनराम मानवअधिकार पुरस्कार वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार नेपालगन्जमा आयोजित औपचारिक कार्यक्रम बीच श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
भजनराम स्मृतिकोषका अध्यक्ष अधिवक्ता बसन्त गौतम, उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारु, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक नेपालगन्ज कार्यालय प्रमुख भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रदिप राजवंशी लगायतले संयुक्त रूपमा वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन गर्दै इन्सेक नेपालगन्ज प्रमुख महतले स्वर्गीय मानवअधिकारकर्मी भजन राम चौधरीले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख अधिकारी, अधिवक्ता विश्वजित तिवारी, बारका चित्र बहादुर शाही, प्रभातसिंह
ठकुरी, सहायक प्रमुख जिल्ला अधिकारी खत्री, फेडोकी निर्मला सुनार लगायतले मानवअधिकार रक्षकको भूमिका, मानवअधिकारको सवाल लगायतका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै पुरस्कृत वरिष्ठ अधिवक्ता श्रेष्ठले पुरस्कारबाट थप जिम्मेवारी महसुस गरेको बताएका थिए । उनले भजनराज पुरस्कार आफुले प्राप्त गरेपनि सम्पूर्ण मानवअधिकारका क्षेत्रमा काम गर्नेहरूका लागि भएको बताएका थिए ।