- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
- निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो ।
- गृहमन्त्री रमेश लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताएका छन् । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी पुग्दा जनता आतंकित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।
- सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १ सय ९० केजी गाँजा बरामद भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले बरामद गरेको हो ।
- डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
- रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुक्षा गोष्ठी सुरु भएको छ ।गोष्ठीलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सूचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्ने बताएका छन् ।