कोहलपुरले तयार गर्यो स्थानीय पाठ्यक्रम

बाँकेको कोहलपुर स्थानीय पाठ्यक्रम तयार गरेको छ । कक्षा १ देखि ५ सम्मका लागि तयार पाठ्यक्रम कोहलपुर नगरपालिकाले सोमबार औपचारिक कार्यक्रम बीच सार्वजनिक गरेको हो ।
कक्षा १ देखि ५ सम्मका लागि कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ सार्वजनिक गर्दै चालु शैक्षिक देखि लागु गर्ने बताएको छ । चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाई हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए ।
कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषताहरू, हाम्रा विकासका पूर्वाधारहरू, हाम्रो पेशा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सिप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायत सातवटा एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको हो । विज्ञ ऋषि शर्माले भने, ‘स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको छ, कक्षा १ देखि ५ सम्मनै सात एकाइ छन्, तर विषयवस्तुको गहिराईलाई कक्षा अनुसार बढोत्तरी गरिएको छ ।’
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको पाठ्यक्रम सार्वजनीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञहरूको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागिमात्रै नभएर कोहलपुरबासी सबैका लागि उपयोगी भएको बताए । उनले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए । पुस्तकले स्थानीय भाषा, कलासंस्कृति, भुगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, सिर्जना र जेष्ठ नागरिकप्रतिको सम्मान गर्ने तवरतरिका समेत सिकाएको उल्लेख गरे ।
यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताइन् । उनले आफु बसेको भुगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताइन् । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पुस्तक कहिलेपनि पूर्ण नहुने भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजानु पर्ने बताए । उनीहरूले नगरपालिकाले सुखद सुरुवात गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरू खोपीराम वली, सुमित्रा न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा पुस्तक निर्माणमा योगदान पु¥याएको भन्दै विज्ञहरूलाई सम्मानित समेत गरिएको थियो । स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ । अन्य पालिकाहरूले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याएपनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

Exit mobile version