नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउँदै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको छ । एनपीएल केवल एक क्रिकेट प्रतियोगिता मात्र नभएर खेलकुदले अर्थतन्त्र र राष्ट्रिय पहिचानमा पार्न सक्ने प्रभावको परिभाषा नै बदल्ने रूपान्तरणकारी शक्ति बन्दै गरेको देख्न सकिन्छ र यो क्रान्तिको केन्द्रमा रहेका छन् नेपाली क्रिकेटका एक खम्बा पारस खड्का, जसको नेतृत्व र दूरदर्शी सोचले एनपीएललाई एक महत्वपूर्ण मञ्चमा स्थापित गर्न मद्दत गरेको छ, जहाँ स्थानीय र अन्तर्राष्ट्रिय प्रतिभाहरूको बेजोड प्रस्तुति सम्भव भएको छ ।
पारस खड्काको नेतृत्वमा, एनपीएलले एक घरेलु इभेन्टबाट अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त लिगको रूपमा विकास गर्दै गरेको देख्न सकिन्छ । ब्रायन लारा, शिखर धवन, जिमी नीशाम लयायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले लिगको स्तर बढाउनुका साथै नेपाली क्रिकेटप्रति विश्वव्यापी चासो र चर्चा जगाएको छ । एक घरेलु प्रतियोगिता स्टार स्पोर्ट्सजस्ता प्रमुख प्रसारण साझेदारहरूसँग गरिएको एक निडर रणनीतिक सहकार्य गरी क्यानले आफ्नो क्रिकेटको सम्भावनालाई करोडौं दर्शकसामु प्रस्तुत गर्न सक्षम भएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा आफ्नो स्थान बनाउन तयार रहेको संकेत दिएको छ ।
साथै खड्काको भूमिकालाई महत्वपूर्ण मान्दै गर्दा, एनपीएलको सफलतामा गरिएको सामूहिक प्रयासको महत्त्व पनि स्वीकार गर्नुपर्छ । टिम मालिकहरू, प्रायोजकहरू, प्रशिक्षकहरू, खेलाडीहरू र सरकारी तथा अन्य निकायहरूको योगदानले पनि लिगको निर्माण र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस समन्वयले एकजूट गरि एनपीएललाई एक प्रमुख खेलकुद इभेन्टमा बदल्न भएको गहिरो प्रयासलाई सफल हुन र दीर्घकालीन प्रभाव जम्न दिनका लागि यो एकता कायम राख्न आवश्यक छ ।
एनपीएलले क्रिकेटको मात्र खेल एक नया अध्याय र परिदृश्य मात्र परिवर्तन गरेको छैन; यो नेपालको अर्थतन्त्रका लागि एक महत्वपुर्ण कोसेढुंगा बन्ने निश्चित छ । करोडौ फ्यानहरू र अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले स्थानीय व्यवसायहरू, होटलहरू, र यातायात लगायत अन्य क्षेत्रहरूलाई बढावा दिएको छ । खेलका क्रममा होटलहरूले लगभग पूर्ण क्षमतामा बुकिङ पाएका छन्, र स्थानीय बजारहरूमा मानिसहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ । यस्ता ठूला खेलकुद इभेन्टहरूले छोटो समयमै ल्याउने आर्थिक लाभ प्रष्ट देखिन्छ । तर, यस प्रभावको दिगोपन सुनिश्चित गर्न अझ धेरै सोच र योजना आवश्यक छ । नेपालले यी उपलब्धिहरूलाई पूर्ण रूपमा उपयोग गर्न दीर्घकालीन संलग्नताका रणनीतिहरू, जस्तै क्रिकेट एकेडेमीहरू, सामुदायिक कार्यक्रमहरू, वा खेलप्रति लगानी कायम राख्ने बार्षिक इभेन्टहरू विकास गर्नुपर्ने हुन्छ ।
एनपीएलले एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल), र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता पुराना प्रतियोगिताहरूले राखेको जगमा आफ्नो एक अलग र उच्च स्थान बनाउन पनि सफल भएको छ । तर, यी प्रतियोगिताहरूले नेपालमा देखिएका चुनौतीहरू पनि उजागर गरेका छन्, जस्तै पूर्वाधार र सीमित क्षमता । नेपालका खेलकुद संरचनाहरू स्टेडियम र प्रशिक्षण केन्द्रहरू अझै अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित भएका छैनन् । नेपालका धेरै क्रिकेट मैदानहरू न्युनतम आवश्यक पुर्बधार नै छैन, जसले ठूला स्तरका खेलहरू आयोजना गर्ने सम्भावनालाई सीमित बनाउँछ । नेपाललाई खेल पर्यटनको केन्द्र बनाउन पूर्वाधार र आधुनिक सुविधाका लागि राज्य र निजि क्षेत्रको ठुलो र महत्वपूर्ण लगानी आवश्यक छ ।
एनपीएलले देशभर उत्साह जगाउँदै नेपाली क्रिकेटप्रति गर्वको भावना विकास गरेको छ । तर, यसको प्रभावलाई स्थानीय तह खेल विकासमा अझै स्पष्ट पार्न आवश्यक छ । प्रतियोगिताले युवा प्रतिभा उत्पादनमा के कस्तो भूमिका खेलिरहेको छ भन्ने विषयमा बिशेष ध्यान दिन जरुरी छ । एनपीएलले स्थानीय स्तरका कार्यक्रमहरू युवा लिगहरू, र प्रशिक्षण पहलहरूमा केन्द्रित गर्दै दीर्घकालीन कार्यविधि र योजना निर्माण गर्नुपर्छ । यस्ता प्रयासहरूले प्रतिभाको भण्डारलाई मात्र सुदृढ गर्दैनन्, समुदायमा क्रिकेटको जरा अझ गहिरो बनाउँछन् ।
अर्को महत्वपूर्ण पक्ष भनेको लिगको विश्वव्यापी चर्चा हो । अन्तर्राष्ट्रिय खेलाडीहरू र प्रसारणकर्ताहरूले निस्सन्देह नेपाललाई विश्व नक्शामा राखेका छन् ।
तर यसले नेपाली खेलकुदका लागि ठोस लाभहरूमा कसरी रूपान्तरण गरेको छ भन्नेमा ध्यान दिन जरुरी छ । क्यानले अब अन्तर्राष्ट्रिय क्रिकेट बोर्डहरूसँग सहकार्य, प्रायोजन सम्झौताहरू र दीर्घकालीन साझेदारीहरूलाई प्राथमिकतामा राख्नुपर्छ । ब्रायन लाराजस्ता व्यक्तित्वहरूको उपस्थिति प्रेरणादायी छ, तर यो क्षणिक ध्यानलाई दीर्घकालीन अवसरमा रूपान्तरण गर्ने सके एनपीएलको क्षमता नै यसको वास्तविक सफलता निर्धारण गर्नेछ ।
एनपीएलले नेपाली क्रिकेट, अर्थतन्त्र, र खेल पर्यटनका लागि नयाँ ढोका खोलेको छ । यो दूरदर्शी नेतृत्व र रणनीतिक योजनाको शक्तिको प्रमाण हो, जसले देखाउँछ कि नेपालले आफूलाई विश्व खेलकुद मञ्चमा एक महत्त्वपूर्ण भूमिकाको रूपमा स्थापित गर्न सक्छ । तर, लिगको व्यापक प्रभाव पूर्वाधार विकास, स्थानीय स्तरमा पुर्बधार र प्रशिक्षण केन्द्रहरूमा लगानी, र आर्थिक दिगोपनजस्ता प्रमुख चुनौतीहरूको समाधानमा निर्भर छ । यी चुनौतीहरूलाई सामना गर्दै एनपीएलले केवल क्रिकेटलाई मात्र नभई नेपालको खेलकुद संस्कृतिलाई नयाँ आयाम दिन सक्छ, जसले विकास र अवसरको नयाँ युगको सुरुवात गर्नेछ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले ट्रफी उचालेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।
उत्कृष्ट नेपाली खेलाडी – सुदूरपश्चिम रोयल्सका कप्तान – दीपेन्द्रसिंह ऐरी – कार पुरस्कार ।
प्लेयर अफ दि टुर्नामेन्ट –सुदूरपश्चिम रोयल्सका – सइफ जैइब प्लेयर – ५ लाख पुरस्कार ।
उत्कृष्ट बलर– जनकपुर बोल्ट्सका ललित राजवंशी– बाइक पुरस्कार र ५ लाख पुरस्कार ।
इमर्जिङ खेलाडी –कर्णाली याक्सका – विपिन प्रसाद शर्मा–५० हजार पुरस्कार ।