नेपाल पत्रकार महासंघ लुम्बिनीले सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति बनाउँदै आएको धारणा सच्याउनु पर्ने बताएको छ । महासंघका नवनिर्वाचित प्रदेश कार्यसमितिलाई बाँके शाखाले गरेको स्वागत सम्मानमा मुख्यवक्ताका रूपमा अध्यक्ष शुक्रऋषि चौलागाईले भने, ‘यसअघि प्रदेश सरकारले यहाँका सञ्चारमाध्यम र सञ्चारकर्मीहरू प्रति बनाएको धारणा समयानुकुल सच्याउँदै जानुपर्छ ।’ उनको भनाइ थियो, ‘प्रदेश सरकारले धारणा बदल्नुपर्छ ।’
पत्रकार महासंघलाई नागरिक समाजको सशक्त संगठनका रूपमा स्थापित गर्नुपर्ने दायित्व नवनिर्वाचित कार्यसमितिलाई आइपरेको भन्दै अध्यक्ष चौलागाईले प्रदेश सरकार अन्तर्गतका जिल्ला स्थित कार्यालयहरूले प्रभावकारी भूमिका नदेखाएकोले त्यसलाई झक्झक्याउने काम पनि पत्रकारहरूले गर्नुपर्ने बताए । ‘प्रदेश सरकारले पत्रकार महासंघको प्रदेश कमिटिसँग संस्थागत सहकार्य गरेर अगाडि बढ्नु पर्ने कुरामा हाम्रो जोड छ’, अध्यक्ष चौलागाईले प्रदेश सरकारले सञ्चारमाध्यमहरूलाई दिने गरेको विज्ञापन तथा लोककल्याणकारी सूचना समेतलाई प्रभावकारी बनाउन नसकेको औंल्याउँदै भने, ‘प्रदेश सरकारले कानुन बनाउँदा यस प्रदेशका सञ्चारमाध्यमको विकास र हितमा सहकार्यको आवश्यकता छ ।’
‘प्रदेश सरकार कानुन मार्फत सञ्चारमाध्यमहरु नियमन गर्ने नियतमा मात्रै देखिन्छ’, बाँकेका सञ्चारकर्मीहरु माझ प्रदेश समितिका पदाधिकारीहरु सहित प्रस्तुत भएका अध्यक्ष चौलागाईले भने, ‘स्थानीय तहदेखि प्रदेश सरकारसम्म सञ्चार नीति बन्ने चरण रहेकाले सचेत ढंगबाट ध्यानाकर्षण गर्नु गराउनु आवश्यक छ ।’ कार्यक्रममा नवनिर्वाचित प्रदेश समितिका पदाधिकारीहरुलाई जिल्ला शाखाका तर्फबाट स्वागत, सम्मान गरिएको थियो । शाखा अध्यक्ष नविन गिरीले बाँकेमा पत्रकारिता र पत्रकारहरुको पछिल्लो अवस्थाबारे शाखाको धारणा समेत प्रस्तुत गरेका थिए ।
गत मंसिर २८ गते भएको निर्वाचनबाट निर्वाचित प्रदेश कार्यसमिति पदभार ग्रहणसँगै जिल्ला स्तरमै पुगेर पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेको महासचिव पाण्डव शर्माले जानकारी दिए । मंगलबार कपिलवस्तुबाट बाँके आइपुगेको टोली बर्दिया पुगेको छ ।