अदालतको आदेश बमोजिम व्यवस्थापनलाई ओपीडीको चाबी बुझाएर काममा फर्किएका लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले पहिलो दिन नै सञ्जीवनीको बोर्ड हटाइदिएका छन् । आफुहरू ओपीडी बन्द गरेर आन्दोलनरत् रहँदा व्यवस्थापनले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड लगाएकोमा आक्रोशित उनीहरूले बोर्ड हटाएर तीन सातापछि काममा फर्किएका हुन् ।
‘कर्मचारीलाई तर्साउन मात्रै यो बोर्ड राखिएकाले हटाएर काम गर्नु उचित हुने बैठकको निर्णय अनुसार भएको हो’, आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष अनिता थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘बाहिर सञ्जीवनीको बोर्ड लगाएपनि अन्यत्र सबैतिर नेपालगन्ज मेडिकल कलेज नै उल्लेख रहेकाले बिरामी झुक्किने अवस्था नहोस् भित्र जे नाम छ, त्यही अनुसार बोर्ड लगाइएको हो ।’
कर्मचारीको आन्दोलनलाई अदालतको पूर्ण निर्णय नआउँदासम्मका लागि स्वरूप परिवर्तन गरेर अगाडि बढाउने निर्णय भएको कर्मचारी नेता अब्दुल हुसेन खाँले बताएका छन् । ‘त्यसबीच व्यवस्थापनसँग सहमति, समझदारी वा सम्झौता भैहाल्यो भने आन्दोलन रोकिने कुरा स्वभाविक रह्यो’, नेता खाँले दैनिक नेपालगन्जसँग भने, ‘त्यतिञ्जेल हरेक दिन एक घण्टा कर्मचारीहरू शान्तिपूर्ण धर्नामा बस्नेछन् । ‘अदालतले सामूहिक सौदाबाजीको श्रमिक अधिकारलाई सुरक्षित नै राखेकाले आन्दोलनको हक सँगै श्रम विभागसँगका छलफल, वार्ता पनि जारी नै रहनेछन्’, खाँले त्यसबीच व्यवस्थापनले बोलाउने छलफल र सामूहिक सौदाबाजीमा कर्मचारी नेतृत्व निरन्तर सहभागी हुने बताए ।
व्यवस्थापनले भने अदालतको आदेशको सम्मान गर्दै काममा फर्किएका कर्मचारीले आफ्ना मागको सुनुवाईका लागि भैरहेको कानुनी प्रक्रियालाई पर्खिएर कामलाई निरन्तरता दिनुपर्नेमा अझै अराजकता मच्चाएको आरोप लगाएको छ । ‘जुन कुराबाट मेडिकल कलेज सबैभन्दा बढी प्रताडित रह्यो, त्यही अवस्थालाई निरन्तरता दिन खोजिएको छ’, सञ्जीवनीको बोर्ड फालिनुलाई अराजकताको पराकाष्ठा भन्दै कर्मचारीसँगको वार्तामा व्यवस्थापनको नेतृत्व गरिरहेका, लर्ड बुद्ध एजुकेशनल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्माले भने, ‘फरक कम्पनीको बोर्डमा धावा बोल्नु अराजकता हो ।’ उनले सञ्जीवनीबारे मेडिकल कलेजका कर्मचारीहरूलाई सम्पूर्ण कुरा थाहा दिइएको दाबी गर्दै उनीहरूको आन्दोलन र सञ्जीवनीको भ्याकेन्सी बीच सम्बन्ध नरहेको बताए ।
‘गत साउन १० गते नै नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सञ्जीवनी मर्ज भएपछि नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस खुल्ने निश्चित थियो’, उपनिर्देशक शर्माले त्यसबारे पटकपटक सार्वजनिक सूचना, औपचारिक बैठक छलफलमा जानकारी दिइएको दाबी गर्दै भने, ‘लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड आफ्नो सम्पत्ति र स्वामित्व रहेका ठाउँमा यथावत सञ्चालन भैरहन्छ ।’
स्वभाविक रूपमा कर्मचारी व्यवस्थापन पनि त्यसै अनुरूप हुने जानकारी दिंदै उपनिर्देशक शर्माले सञ्जीवनीले खरिद गरेको लर्ड बुद्धको सम्पत्ति र मर्ज हुँदा लिएको नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को भवनमा आफ्नो कार्यालय सञ्चालन गरेर सेवा सुरु गर्छु भन्दा हस्तक्षेप गर्न नहुने बताए । उनका अनुसार, नेपालगन्ज मेडिकल कलेजले कोहलपुरमै थप १ सय शैय्याका इजाजत पाएर ४ सय शैय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने र नेपालगन्जमा सञ्जीवनीले ३ सय शैय्याको सुविधा सम्पन्न अस्पताल चलाउने योजना अनुसार नयाँ नेतृत्व अगाडि बढिरहेको हो ।
त्यसका लागि ८ सय ९५ जना स्वास्थ्यकर्मी माग गरिएको व्यवस्थापनको दाबी छ । आन्दोलनरत् कर्मचारी नेतृत्वले सञ्जीवनी स्थापनाको प्रक्रिया प्रतिपनि कानुनी प्रश्न उठाउँदै आएका छन् । ‘त्यसका लागि स्थानीय तह हुँदै अपनाउनु पर्ने सिफारिस प्रक्रिया अपनाइएको छैन’, कर्मचारी यूनियन अध्यक्ष थापा भन्छिन् । कर्मचारी नेता अब्दुल हुसेन खाँ पनि सञ्जीवनी सञ्चालन प्रक्रियादेखि सेवाशुल्क वृद्धि सम्बन्धी भैरहेका निर्णयहरू कानुन सम्पन्न भएको दाबी गर्छन् ।