बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाको गुनासो छ, ‘गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।’
त्यहीं, जनक कुमारी थारुले जंगलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गर्छिन् । उनका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जंगली जनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ ।
स्थानीय सुशीला चौधरीले राजनीतिक दलहरुले पनि वन्यजन्तुबाट हुने क्षति तर्फ खासै ध्यान नदनिएको औंल्याइन् । उनले यस समस्याको समाधानका लागि दलहरुले वकालत गर्नुपर्ने कुरामा जोड दिइन् । दलहरुको प्राथमिकतामा उनीहरुका समस्या नपरेकामा स्थानीय दुखी देखिए ।
वन्यजन्तुबाट हुने क्षति, बाली नोक्सानी, र मानिसको ज्यान खतरामा पर्ने समस्याबारे स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो स्थानीयहरूमाझ व्यापक छ । साथै, वन्यजन्तु र बालीको बीमा प्रणाली अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । नत, त्यसबारे समुदायलाइनै राम्रोसँग जानकारीनै छ ।
मधुवन– २ का यी चुनौतीहरुबारे सचेतना र समाधानको खोजी गर्नका लागि शनिबार क्लब चौतारी कार्यक्रमको आयोजना गरिएको छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधिका रुपमा क्लब चौतारी गरिएको हो । कार्यक्रममा स्थानीय किशोरकिशोरी र युवाहरु, सीसीएनका पदाधिकारीहरु, पत्रकार, गैससका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहजकर्ता हरि गुरुङ्गले वन्यजन्तुको क्षतिबाट जोगिन बीमा प्रणाली र राहत निर्देशिकाको महत्वबारे जानकारी गराए । साथै, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वका उपायहरुबारे छलफल गरिएको कार्यक्रममा सहजकर्ता गुरुङले स्थानीय भाषामा अन्तक्र्रियात्मक संवाद गरि कानुनी व्यवस्थाबारे जानकारी दिएका थिए ।
कार्यक्रमले किशोरकिशोरी र युवाहरुलाई मानव–वन्यजन्तु द्वन्द्व सम्बोधनका लागि आवश्यक वकालत क्षमता र सचेतना अभिवृद्धिमा टेवा पु¥याएको सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले जनाएका छन् । कार्यकारी निर्देशक अधिकारीले सहभागीहरुलाई कार्यक्रमको औचित्वबारे प्रकाश पार्दै समुदायलाई राज्यले प्रवाह गर्ने कानुन सम्मत राहत व्यवस्थाबारे जानकारी दिएर संरक्षणको दायित्वबोधसमेत हुने बताए ।
सीसीएनका कार्यक्रम संयोजक भिमबहादुर सार्कीले बाँकेको राप्ती सोनारी र बर्दियाको मधुवनमा यसखालको कार्यक्रममार्फत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ सञ्चालन गरि वन्यजन्तु र मानववीचको द्वन्द्व न्यूनिकरण पहल गरिएको बताए ।