नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन खजुराको कलिका मन्दिर परिसरमा हुने भएको छ । खजुरामा पत्रकार सम्मेलनको आयोजना गरि यही माघ १० गते हुने अधिवेशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार विकले खजुराका ४ किल्लाबाट खबरदारी जुलुस निकाल्ने तयारी रहेको जानकारी दिए । कार्यक्रमलाई भव्य बनाउन विभिन्न ११ वटा समिति निर्माण गरेर तयारी थालिएको छ । प्रचार संयोजक तथा खजुरा पालिका कमिटीका उपाध्यक्ष टंक पोख्रेलले पालिका अधिवेशनसंगै अध्यक्ष प्रचण्डले खजुरा ३ सन्तकुटीमा रहेको सहिद बाटिकामा रहेका शहिदहरुका प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए ।
उनका अनुसार पालिका अधिवेशनमा २ सय प्रतिनिधि र त्यतिकै संख्यामा पर्यवेक्षकको सहभागिता हुनेछ । उदघाटनमा अध्यक्ष प्रचण्ड लगायतका अन्य शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । यसैवीच सोही दिन खजुरामा रहेको सभा हलको उदघाटन समेत गरिने जनाइएको छ ।