झण्डै एक बर्षदेखिको विवाद साम्य पार्दै दारुल उजुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिको नेतृत्वमा रहमान मियाँ चुनिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेको रोहवरमा मुस्लिम अगुवाहरूको भेलाले पूर्व अध्यक्ष समेत रहेका मियाँको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो । ‘तपाईहरू आपसमै बसेर टुंगो लगाउनुस् भनेपछि उहाँहरू आफैले गरेको प्रस्ताव अनुसार नेतृत्व चयन भएको हो’, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले दैनिक नेपालगन्जसँग भने, ‘आर्थिक अनियमितताका सवालमा स्थानीय प्रशासनको नेतृत्वमा छानबिन समिति बन्नेछ ।’
समितिमा जामा मस्जिदको वर्तमान समितिको प्रतिनिधित्व समेत रहने गरी हालसम्मका सम्पूर्ण आर्थिक हरहिसाबको छानबिन हुने सहमति बनेको छ ।
खासगरी फिदा हुसेनको नेतृत्वमा रहेको यसअघिको इदगाह सञ्चालक समितिले करोडौं रकम अपचलन गरेको आरोप सहित अख्यितार, स्थानीय प्रशासन लगायतमा उजुरी परेपछि एकबर्षदेखि स्थानीय प्रशासनको निगरानीमा गठित तदर्थ समितिले निर्वाचन गराउने पहल गरेको थियो । तर, विधानमै निर्वाचनको व्यवस्था नभएको भन्दै निर्वाचन समितिका संयोजक नै कोषाध्यक्ष बस्ने गरी सञ्चालक समिति गठन गरिएपछि त्यसविरुद्ध विरोध हुँदै आएको थियो । नयाँ समितिमा पूर्व अध्यक्षहरू रौनक अली इद्रिसी उपाध्यक्ष, ऐनुद्दिन अन्सारी सचिव र मो. हुसेन हलवाई कोषाध्यक्ष चयन भएका छन् । ‘बाँकी कमिटि छलफलबाट पूर्णता दिइनेछ’, अध्यक्ष मियाँले दैनिक नेपालगन्जसँग भने, ‘विधान संशोधन गरेर भएका अस्पष्टता प्रष्ट पार्दै व्यवस्थित जामा मस्जिद नयाँ समितिलाई हस्तान्तरण गर्नेछु ।’