होटल व्यवस्थापन लगायत पर्यटन शिक्षाका आधारभूतदेखि उच्च शिक्षासम्मको व्यवस्था नेपालगन्जमै हुने भएको छ । त्यसका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालयले पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशसँग शुक्रबार सम्झौता गरेको हो ।
तत्काल पर्यटन क्षेत्रका स–साना क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाउन पूर्व तयारी गरिरहेको विश्वविद्यालयले दीर्घकालीन रूपमा उच्च शिक्षाका लागि पूर्वाधारदेखि पाठ्यक्रम निर्माणसम्मका काम गर्ने भएको छ । ‘राम्रो सुरुवात भएको छ’, पर्यटन विकास परिषद् लुम्बिनीसँग सम्झौता आदानप्रदान गरिएपछि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले भने, ‘तत्काल सर्ट टर्म कोर्ष सुरु गर्छौ, क्रमशः ग्रयाजुयेट र मास्टर्स् लेभलको सेलेबस सहित अध्यापन व्यवस्था गरिनेछ ।’
लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि आफुहरूले सक्दो प्रयास गरिरहेको र पछिल्लो यो सम्झौताले सकारात्मक परिणाम ल्याउनेमा आफु ढुक्क भएको बताए । उनले नेपाली माटो सुहाउँदो प्राविधिक शिक्षामा जोड दिए ।
त्यसअघि लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुल सचिव रेग बहादुर भण्डारी र पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशी बीच सम्झौतामा हस्ताक्षर तथा आदानप्रदान गरिएको थियो ।
कुल सचिव भण्डारीले आफ्नो प्रस्तुतिमा लुम्बिनी प्राविधिक विश्वविद्यालयले गरिरहेका अध्ययन, अनुसन्धान बारे प्रस्तुति गरेका थिए ।
पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक जोशीले लुम्बिनी प्रदेशमा पर्यटन प्रवद्र्धनका सम्भावनाहरू बारे आफुले गरेका कामहरू प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटकीय क्षेत्रको विकासमा राज्यले गरिरहेको लगानी प्रभावकारी नभएको औंल्याए । उनले दक्ष जनशक्ति तयार गर्न विश्वविद्यालय–परिषद् बीचको सहकार्यले सुखद् परिणाम ल्याउने विश्वास व्यक्त गरे ।
सामुदायिक होम स्टे सञ्चालक कृष्ण चौधरीले होम स्टे सञ्चालनका लागि नै दक्ष जनशक्ति तयार गर्ने काम सम्झौताको पहिलो उपलब्धी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष चिरञ्जीवि अधिकारीले सूचना प्रविधिको सहायताबाट नेपालको पर्यटन विश्वमाझ पुर्याउन सकिने सम्भावना औंल्याएका थिए ।