नेपालगन्जमा पहिलो पटक बुधबार राजस्थानी लोकनृत्य प्रदर्शन गरिएको छ । भारतीय दुतावासको ‘इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्स’ले नेपाल–भारत मैत्री संघ बाँकेसँगको सहकार्यमा नेपालगन्जमा राजस्थानी लोकनृत्य प्रदर्शनी गरिएको हो ।
भारतीय प्रथम सचिव बाशिष्ट नन्दन र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको कार्यक्रममा राजस्थानी लोकनृत्य मण्डलीले विभिन्न प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, नगर प्रमुख विष्टले यसखालका सांस्कृतिक कार्यक्रमले दुई देश बीचको नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउन विश्वास व्यक्त गरे । स्थानीय आयोजकका तर्फबाट नेपाल–भारत मैत्री संघका जिल्ला अध्यक्ष प्रदिप कुमार गुप्ताले यसखालका कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा दुतावासको ध्यानाकर्षण गराए ।
‘दुई देशबीच जनस्तरको सम्बन्ध विकास र बिस्तारमा यसखालका सांस्कृतिक कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्छन्’, मञ्चका अध्यक्ष गुप्ताले भने ।