नेपालगन्ज साइकल फेष्टिबल अन्तर्गत आज शुक्रबार ‘टुर दि ठाकुरद्वारा’को सातौं संस्करण आयोजना हुँदैछ । नेपालगन्ज साइक्लिङ्ग क्लबले ६ बर्षअघि देखि सुरु गरेको टुर दि ठाकुरद्वारा पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणका लागि एकै ठाउँबाट सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जनाउँदै आएको छ ।
‘प्रदेश सरकारले घुमौं बर्दिया अभियान चलाइरहँदा हामीले भने ६ बर्ष अघिदेखि नै विश्वभर सन्देश पुग्नेगरी टुर दि ठाकुरद्वारा गरिरहेका छौं’, आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले भने, ‘यो आयोजनालाई राज्यले अपनत्व लिएर हामीसँग सहकार्य गर्नुपर्छ ।’
कार्यक्रम संयोजक सुरेन्द्रदिप कार्की बाँके, बर्दिया जोड्ने महत्वपूर्ण कार्यक्रमका रूपमा टुर दि ठाकुरद्वारालाई लिनुपर्ने बताउँछन् । ‘त्यसका लागि कम्तिमा नेपालगन्ज उपमहानगरपालिका जस्तै बाँके र बर्दियाका पालिकाहरूले हातेमालो गर्नुपर्छ’, कार्कीको भनाइ छ ।
क्लबका निवर्तमान अध्यक्ष सतिश निरौलाले यसखालका इभेन्टले पर्यटन मात्रै होइन यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने बताउँछन् । ‘सरकारी प्रतिनिधिले यसको चौतर्फी प्रभाव बुझ्नुपर्छ’, निरौलाले पर्यापर्यटनको क्षेत्रमा महत्वपूर्ण अभियानका रूपमा यसलाई लिनुपर्ने बताउँदै भने ।
आज शुक्रबार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरबाट नेपाल–भारत–चीनका साइकल यात्री र अफिसियल सहित दुई सय ५० बढीको यात्रा निस्कदैछ । क्लब सचिव इन्द्र गिरीका अनुसार, २ सय ५० बढी साइकल यात्रीले नेपालगन्ज परिक्रमा गरी कोहलपुर हुँदै ओम केदारेश्वर धाम बाँसगढीको बाटो बर्दियाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन गर्दै ठाकुरद्वार पुग्नेछन् । ‘त्यसका लागि सहभागी हुन सबैजसो साइकल यात्री बिहीबार नै नेपालगन्ज आइपुगिसक्नुभएको छ’, सचिव गिरीले दैनिक नेपालगन्जसँग भने, ‘सबैको आतिथ्य व्यवस्थापन उचित ढंगले गरिएको छ ।
टुर दि ठाकुरद्वारा उद्घाटनका लागि लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई निम्त्याइएको क्लब उपाध्यक्ष कविराम बुढाथोकीले जानकारी दिए । ‘प्रदेश सरकारले घुमौं बर्दिया अभियान चलाइरहेकाले टुर दि ठाकुरद्वारा सरकारको नजर परोस् भन्ने हाम्रो उद्देश्य हो’, उपाध्यक्ष बुढाथोकीले भने, ‘यसलाई सबैको हातेमालोबाट सफल बनाउनु पर्छ ।’