कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

बाँकेको कोहलपुरमा मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ प्रतियोगिताको तेस्रो संस्करण घोषणा भएको छ । आइतवार आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले प्रतियोगिताको घोषणा गरेको हो ।

मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतले फागुन १७ – २४ गतेसम्म प्रतियोगिता तय गरि तयारी भइरहेको जानकारी दिंदै यस वर्षदेखि स्थानीय पर्यटन र खेलकुद पर्यटन प्रवद्र्धन समेतको उद्देश्य राखिएको बताए ।

त्यसका लागि प्रतियोगितामा भाग लिन आउने खेलाडी तथा अफिसियलहरूलाई बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा अवलोकन भ्रमण गराइने प्याकेज बनाइएको छ ।

यस वर्ष प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता निश्चित भएको छ ।

आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब बाँकेको सहभागिता निश्चित भएको हो ।

संयोजक बस्नेतका अनुसार, प्रतियोगितामा प्रथम हुने विजेता टोलीले उपाधिसँगै आठ लाख रुपियाँ राशीको पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न ९१ लाख २६ हजार रुपियाँ खर्च लागत लाग्ने अनुमान आयोजकले गरेको
छ ।

प्रतियोगितामा दोस्रो हुनेलाई चार लाख, म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०÷१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिने जानकारी आयोजकले दिएको छ ।

पत्रकारहरूबीच तयारी अन्तिममा पुगेको जानकारी दिंदै आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले आफ्नो जर्सीसमेत सार्वजनिक गरेको थियो । एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भोजराज शाही, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र आयोजक क्लब अध्यक्ष क्षेत्रीले जर्सी सार्वजनिक गरेका हुन् ।

Exit mobile version