साहित्यकार डा.कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना गरिएको छ । नेपालगन्ज घरबारीटोल घर भै हाल ललितपुर श्वेतशिखरमा वसोवास गर्नु हुने प्रसिद्ध साहित्यकार तथा अवकाश प्राप्त चिकित्सक डा. कृष्ण जङ्ग राणाले रु. २५ हजारको डा.कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना गरेका हुन् । यसको निम्ति उनले कृषि विकास बैक त्रिभुवनचोक शाखामा रु. ५ लाखको अक्षयकोष स्थापना गरि सो पुरस्कार सञ्चालनको दायित्व सर्वदा साहित्य सङ्गम, नेपालगन्जलाई सुम्पिएका छन् ।
डा.राणाले केही समय अघि बाँके जिल्लाका नवप्रतिभाहरूलाई प्रदान गर्ने गरि आफ्नी धर्मपत्नी शान्ता राणाको नाममा प्रतिभा पुरस्कार स्थापना गरेर महेन्द्र पुस्तकालय नेपालगन्ज बाँकेमा रु. ४ लाखको अक्षयकोष स्थापना गरिदिएका थिए । उनले महेन्द्र पुस्तकालयको प्राङ्गणमा विद्यादायिनी देवी श्री सरस्वती माताको मूर्ति स्थापना गरिदिने आश्वासन दिएको छ । स्मरणीय छ, डा. राणाले केही वर्ष पूर्व वागेश्वरी मन्दिरको प्राङ्गणमा भगवान श्री गणेशको मूर्ति पनि स्थापना गरेका थिए ।
हाल ९३ वर्षमा हिडिरहनु भएका डा. कृष्ण जंग राणाले अहिलेसम्म विभिन्न विधा र विभिन्न भाषामा २७ वटा साहित्यिक पुस्तक प्रकाशित गरिसकेका छन् । उनले श्री ५ को सरकारको स्वास्थ्य सेवा र विश्व स्वास्थ्य संगठनमा पनि सेवा दिइसकेका छन् ।
पुरस्कार प्रत्येक वर्ष भाद्र महिनामा डा. राणाको जन्मोत्सवको सन्दर्भमा प्रदान गरिने जानकारी सर्वदा साहित्य सङ्गमका सचिव भिम प्रजोलले दिएका छन् ।