नेपालगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकार पाएका बाँकेका दुईवटा स्वास्थ्य संस्थाहरुलाई कारबाही गरेको छ । बाँकेको नेपालगन्ज पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर र एभरेष्ट इन्टरनेसनल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरलाई कारबाही गरेको हो ।
यी संस्थाहरुले मलेसिया र साउदीबाहेक देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । श्रम मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षण गर्न अपनाउनुपर्ने मापदण्ड पूरा नगरेको अनुगमनमा भेटिएको भन्दै ती संस्थाहरुलाई कारबाही गरेको हो । श्रमले ती स्वास्थ्य संस्थाहरुको कारोबारलाई अर्को व्यवस्था नभएसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (डोफे अनलाइन)बाट हटाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको कान्तिपुर पत्रिकाले उल्लेख गरेको छ । अब ती स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षण गरे पनि विभागले बैधता दिने छैन ।
वैदेशिक रोजगार ऐनअनुसार सूचीकृत स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य रिपोर्टलाई अनलाइनमार्फत विभागको सूचना प्रणालीमा पठाएपपछि मात्रै श्रमस्वीकृति दिने व्यवस्था छ । यीसँगै देशभरिका ४१ वटा स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गरेको हो ।