कुपोषणः बाँके लुम्बिनीकै उच्च जोखिममा, २ को मृत्यु, ४२५ बिरामी

नेपालगन्ज । सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न हरेक वर्ष करोडौं रकम खर्च गर्ने गरे पनि कुपोषित बालबालिकाको संख्या बाँकेमा डर लाग्दो देखिएको छ । लुम्बिनीको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी कुपोषणको संख्या बाँकेमा छ ।

लुम्बिनीमा पछिल्ला तीन वर्षको तथ्यांकले पोषण सुधारको अवस्था नाजुक देखाएको छ । प्रदेश र संघीय सरकारले बालबालिकामा ख्याउटेपन, पुड्कोपन र कम तौलको अवस्था सुधार गर्न हरेक वर्ष दुई करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । लुम्बिनीमा सुआहारा, युनिसेफलगायतका गैरसकारी संस्थाले पनि पोषण सुधारका लागि कार्यक्रम गरिरहेका छन् । तर, कुपोषणग्रस्त बालबालिकाको संख्या हरेक वर्ष बढ्दो छ । गत वर्ष मात्र कुपोषणकै कारण लुम्बिनमा सात बालबालिकाको मृत्यु भएको छ । बाँकेमा दुईजना, बर्दिया, कपिलवस्तु, प्यूठान, रोल्पा र पश्चिम नवलपरासीमा एक/एकजनाको मृत्यु भएको थियो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बाँकेमा चार सय २५, रूपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६, दाङमा २ सय ३२, पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, पाल्पामा १०, अर्घाखाँची र रुकुम पूर्वमा ५/५ जना बिरामी छन् । भेरी अस्पताल बाँकेमा कुपोषण पुनःस्थापना केन्द्र पनि सञ्चालन गर्दै आएको छ । केन्द्रमा बच्चाहरूको उपचारका लागि बेड, पोषणयुक्त आहार र आमाको बसोबासको व्यवस्था पनि हुन्छ ।

Exit mobile version