भूकम्पपीडितको राहतका विषयमा माओवादीभित्र विवाद

नेपालगन्ज । रुकुम पश्चिमका भूकम्पपीडितलाई वितरण गरिएको राहतका विषयमा नेकपा माओवादीभित्र विवाद उत्पन्न भएको छ । माओवादीका नेताहरुले एक ठाउँको राहत अर्को ठाउँका भूकम्पपीडितलाई वितरण भएपछि विवाद उत्पन्न भएको हो ।

उक्त राहतमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र प्रदेश अध्यक्ष विमला केसीले अनियमितता गरेको आरोप लागे छ । चिनियाँ कम्युनिस्ट पार्टीले झण्डै पाँच सय भूकम्पपीडित परिवारका लागि माओवादीमार्फत राहत सामग्री पठाएको थियो भने त्यसको वितरण र सहजीकरणको काम माओवादी नेताहरुले गरेका थिए । उक्त सामग्री लिएर गत मंसीर २० गते सोउ सिच्याङ नेतृत्वको एक टोली रुकुम पश्चिम र जाजरकोटको सिमानास्थित रिम्ना पुगेको थियो । रिम्नास्थित माओवादी वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीको घरमा भण्डारण गरिएको उक्त सामग्री वितरणका लागि लैजाने क्रममा विवाद भएपछि टोली प्रमुख सिच्याङमाथि केसीकै घरमा काम गर्ने एक युवकले हातपात गरेका थिए ।

उक्त प्रकरणमा पुस २८ गते बसेको माओवादी स्थायी समिति बैठकले केसीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण दिने क्रममा केसीले माओवादी महासचिव गुरुङ र प्रदेश अध्यक्ष केसीले अनियमितता गरेको आरोप लगाएपछि विवाद चुलिएको हो । कात्तिक २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले माओवादी केन्द्रसहित कांग्रेस, एमाले र एकीकृत समाजवादीलाई झण्डै दुई करोड ७४ लाख रुपैयाँको राहत सामग्री पठाएको थियो । उक्त दुई हजार प्याकेजमध्ये माओवादीको भागमा पाँच सय थान राहत सामग्री परेको थियो । राहत वितरण सहजीकरण गर्न महासचिव गुरुङसहित प्रदेश अध्यक्ष केसीसहितको टोली मंसीर १८ गते नै वैकल्पिक केन्द्रीय सदस्य केसीको घरमा बास बसेका थिए ।

वैकल्पिक केद्रीय सदस्य केसीले पार्टीलाई बुझाएको ६ पन्नाको स्पष्टीकरणमा राहतमा अनियमितता भएको बारे प्रश्न उठाउँदा घटना भएको दाबी गरेका छन् ।

Exit mobile version