फरार खोज्दै बाँके प्रहरी

अपराधीले उन्मुक्ति पाउँदैनन् । कानुन विपरित कार्यमा खोजिने तथा अदालतबाट सजाय तोकिएका अपराधीहरू ढिलो, चाँडो कानुनी सजायका लागि समातिने गरेका छन् । नेपाल प्रहरीले अपराधीहरूलाई दुई दशकपछि पक्राउ गरेर कानुनी सजाय भोग्न बाध्य बनाएको छ ।

नेपाल प्रहरीले देशभर फरार खोज्न प्रहरीको छुट्टै यूनिट बनाएर परिचालन गरेपछि दैनिकजसो अदालतबाट सजाय पाएर बर्षाै भागेकाहरू पक्राउ परेर कारागार पुग्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो, नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादव । उनी थुनुवा सँगै १६ बर्ष अघि फरार भएका थिए । पैसाको लोभमा थुनुवा भगाई भारतमा बस्दै आएका यादवलाई केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको थियो । बाँकेमा पनि प्रहरीले दशकौं अघि सजाय पाएकाहरू पक्राउ गरेको तथ्यांकमा देखिन्छ ।

बाँकेमा पनि नियमितजसो फरार समातिने गरेका छन् । त्यसका लागि छुट्टै प्रहरी टिम सक्रिय रहेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगी बताउँछन् । ‘दैनिक ३÷४ जना प्रहरीमा उजुरी रहेका र अदालतबाट सजाय तोकिएका फरार समातिने गरेका छन्’, उनी भन्छन्, ‘फरार खोज्न छुट्टै प्रहरी यूनिट हुँदा निरन्तर निगरानी हुने गरेको छ ।’

फरार खोज्न बनाइएको प्रहरी टोलीलाई देशभरका विभिन्न जिल्लाबाट बाँके घर भएकाहरू सूचि उपलब्ध हुने गरेको छ । फरार खोज्न सक्रिय प्रहरी टोलीले अदालत तथा प्रहरीबाट खोजीको सूचना प्राप्त गरेपछि नियमित निगरानी गर्दै नियन्त्रणमा लिने गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत फरार खोजिको सूचिमा १ हजार ५ सय बढी रहेका छन् । खोजीको सूचि घट्ने, बढ्ने भैरहन्छ । बाँके प्रहरी प्रवक्ता, डाँगी चालु आ.व.मा फैसला कार्यान्वयन गर्न खटिएको प्रहरी टोलीले ९६ जना पक्राउ गरिसकेको बताउँछन् ।

पछिल्लो तथ्यांक अनुसार, जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरी तथा मुद्दा लागेका मध्ये २ सय २६ फरार रहेका छन् । जिल्लामा कुल ७ सय १७ मुद्दा दर्ता भएकोमा ६ सय २० अभियुक्त रहेका थिए । जसमा २ सय २६ फरार अवस्थामा रहेका हुन् । ‘प्रहरीले अदालतबाट सजाय तोकिएका र प्रहरी मार्फत मुद्दा भई फरार दुवैलाई खोज्दै आएको छ’, प्रहरी प्रवक्ता डाँगी भन्छन् ।

प्रहरी अधिकारीहरू अपराध कर्म गर्ने लुकिर्कापछि बसेपनि कुनै न कुनै बेला पक्राउ पर्ने बताउँछन् । ‘मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारबाहीबाट भाग्न खोज्छ । तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ’, प्रहरी अधिकारीहरू भन्छन् ।

कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरू पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको देखिन्छ । उनीहरू अहिले धमाधम पक्राउ पर्दै छन् ।

बाँकेमा प्रहरीले फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरिरहेको छ ।

Exit mobile version