मिटरब्याजसम्बन्धी उजुरी प्रहरीले हेर्ने

नेपालगन्ज । मिटरब्याजसम्बन्धी उजुरीमा अब प्रहरीले छानबिन तथा अनुसन्धान गर्ने भएको छ । सरकारले यससम्बन्धी अधिकार प्रहरीलाई दिने निर्णय गरेको हो ।

गत साताको मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले कार्यविधि बनाई कार्यान्वयनका लागि सोमबार प्रहरीलाई पत्राचार गरेको छ । जसअनुसार यसअघि जिल्ला प्रशासन कार्यालयमा फस्र्योट हुन बाँकी रहेका उजुरीसमेत अब प्रहरीमा पठाउने तयारी छ ।

अब पीडितहरूले सीधै प्रहरीमा उजुरी दिन सक्नेछन् । गृह मन्त्रालयले बनाएको कार्यविधिअनुसार पीडितले पेस गरेको प्रमाण तथा लेनदेनको रकमका आधारमा वर्गीकरण गरी प्रहरीले प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ । पीडित र पीडक दुवैलाई सूचना दिई प्रहरीले निश्चित समय दिएर मिलापत्रका लागि प्रोत्साहन गर्ने र मिलापत्र हुन नसकेमा मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । उजुरी फस्र्योटका सम्बन्धमा गरेका प्रगति विवरण मासिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

Exit mobile version