नेपालगन्ज । बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दियालाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा १३ लाख ६२ हजार पाँच सय रकमसहित उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीसहित ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटेल भियानाबाट नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल र २८ वर्षीय किशोर अधिकारी, चितवनका ४१ वर्षीय दीपक गुरुङ, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शंकर शाही र ३० वर्षीय राजु पन्त, रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ज्याठास्थित होटेल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।